कोसी करिडोर विद्युत् प्रसारण लाइन विस्तारका क्रममा ८ हजार रुख काटिँदै

Newslaya Home

कोसी करिडोर विद्युत् प्रसारण लाइन विस्तारका क्रममा ८ हजार रुख काटिँदै

आइतबार २६, माघ २०७६

तेह्रथुम । राष्ट्रिय गौरवको कोसी करिडोर विद्युत् प्रसारण लाइनको काम घि बढिरहँदा हजारौं रूख काटिने भएको छ । आयोजनाका लागि तीनजुरे, मिल्के, जलजले (टीएमजे) क्षेत्रका हजारौं रूख काटिने भएपछि त्यसले जैविक विविधतालाई असर पार्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

आयोजनाले धनकुटा र तेह्रथुममा पोल गाड्ने तथा तार जडान गर्ने कार्य सुरू गरेको छ। प्रसारण लाइन विस्तारका क्रममा जिल्लाको लालीगुराँस नगरपालिकामा टीएमजे क्षेत्रका हजारौं रुख काटिदा यस क्षेत्रको जैविक विविधता नष्ट हुने र पर्यटकीय आर्कषण पनि खस्किने सो नगरपालिकाका प्रमुखले बताएका छन् ।

उनले भने ‘यो आयोजनाबाट सबैभन्दा बढी क्षति हाम्रो क्षेत्रमा हुने देखियो, जैविक विविधतालाई असर पुग्ने गरी काम हुनु राम्रो होइन।’ प्रसारण लाइन बिस्तारका क्रममा तेह्रथुमका चैते, चित्रे, तीनजुरे(रातपोखरी, लिसाबोटे, मेन्छ्यायाम धाप, गौरी नागी, डांगी जोरी लगायतका सामुदायिक वनमा रूख कटान हुनेछ। एकै साथ ठूलो संख्यामा रूख कटान हुँदा मुलुककै नमुना सहर बसन्तपुरमा खानेपानीको संकट निम्तिने स्थानीय रविकिरण लिम्बु बताउँछन्।

टीएमजे गुराँसका लागि प्रसिद्द छ। २८ प्रजाति गुराँस फूल्ने भएकाले प्रत्येक बर्षको फागुनदेखी बैशाखसम्म यहाँ पर्यटकको घुइँचो लाग्छ। दुर्लभ प्रजातिका गुराँसका रुख फाडिएको खण्डमा पर्यटकीय चहल पहल प्रभावित हुने बताइएको छ ।

प्रसारण लाइन विस्तारका लागि २०७३ मा प्रारम्भिक वातावरणीय प्रभाव मुल्यांकन गरिएको थियो। सो अध्ययन अनुसार टीएमजेमा मात्रै सात हजार ६ सय २९ रूख काटिने र सबैभन्दा बढी चैते सामुदायिक वनबाट एक जार चार सय २५ रूख हटाउन सुझाइएको छ। काटिनेमध्ये ८० प्रतिशत भन्दा बढी गुराँसका रूख पर्नेछन्।