झापामा एक भारतीयको गुप्ताङ्ग काटेर हत्या गर्ने दुई युवा पक्राउ

Newslaya Home

झापामा एक भारतीयको गुप्ताङ्ग काटेर हत्या गर्ने दुई युवा पक्राउ

आइतबार २६, माघ २०७६

झापा । झापा जिल्लाको बिर्तामोडमा केही दिनअघि एक भारतीय नागरिकको संवेदनशील अंग (गुप्ताङ्ग) काटेर हत्या गर्दै शव जलाउने दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

बिर्तामोड नगरपालिका–२, चारपानेमा डेरा गरी बस्ने भारतीय नागरिक ४० वर्षीय सुवास शेखको हत्यामा संलग्न भएको भन्दै सोही ठाउँका २० वर्षीय करन चौधरी र १८ वर्षीय लक्ष्मण यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले घटनाका बारेका जानकारी गराए ।

उनका अनुसार मादक पदार्थ सेवन गरेर सामान्य विवादमा शेखको हत्या गर्दै स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखिएको परालमा चौधरी र यादवले शव जलाएकाको अनुसन्धानमा खुल्न आएको छ ।

शेख चारपानेमा विगत १० वर्षदेखि बसोवास गर्दै आएको र सोही क्षेत्रमै मजदूरी गर्दै आएका थिए । सोमबार साँझ यादव, चौधरी र शेखले चारपानेको एक स्थानीय होटलमा संगै बसेर मादक पदार्थ सेवन गरेका र सोही समयमा आपसी विवादका क्रममा शेखलाई यादव र चौधरीले टाउकोमा ढुङ्गा प्रहार गर्दै बेहोश बनाएर पराल राखेको ठाउँसम्म घिसारेर पुर्याएका र संवेदनशील अंग काटेर परालमा आगो लगाएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

पक्राउ परेका चौधरी र यादवलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।