झापा र मोरङसहित १३ जिल्लामा हात्तीपाइलेको औषधी खुवाइँदै

Newslaya Home

झापा र मोरङसहित १३ जिल्लामा हात्तीपाइलेको औषधी खुवाइँदै

आइतबार २६, माघ २०७६

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (आइतबार) पनि विभिन्न १३ जिल्लामा हात्तीपाइलेको औषधी खुवाउँदैछ । शनिबार औषधी खान छुटेकाहरुलाई आज समेट्न लागिएको मन्त्रालयले जनाएको छ ।

यस बर्ष विभिन्न १३ वटा जिल्लाका ७४ लाख ६१ हजार मानिसलाई औषधि खुवाउने सरकारको लक्ष्य रहेको छ । मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा हात्तीपाइलेविरुद्धको औषधी खुवाइँदैछ ।

चिकित्सकहरुले खाली पेटमा औषधी नखान सुझाएका छन् । साथै दुई वर्षमुनिका बालबालिका, कडा रोग लागेका बिरामी, सुत्केरी र गर्भवती महिलालाई पनि हात्तीपाइलेको औषधी खुवाउन नहुने चिकित्सकहरुले जानकारी दिएका छन् ।

शरीरमा हात्ती पाइले रोगको परजीवि भएका ब्यक्तिहरुमा यो औषधि सेवन गरेपछि सामान्य टाउको दुख्ने, वाकवाक लाग्ने तथा पेट दुख्ने जस्ता लक्षण देखा पर्नसक्छन् । यस्तो लक्षण देखिएमा औषधिले प्रभावकारी रुपमा काम गरेको भनेर बुझ्न महाशाखाले जनाएको छ । हात्तीपाइले रोग मानिसलाई अशक्त, असमर्थ तथा अपाङग बनाउने एक सरुवा रोग हो । यो एक प्रकारको मसिनो जुकाजस्तै परजिवीको संक्रमणका कारण लाग्ने चिकित्सकले जनाएका छन् ।

यो संक्रमित लामखुट्टेको टोकाइबाट पनि सर्छ । मानिसको शरीरमा यो परजीवि प्रवेश गरेको केहि बर्षपछि मात्रै लक्षणहरु देखिन सुरु गर्छन् । नेपालमा सन् २००३ देखि आम औषधि सेवन कार्यक्रम सुरु गरिएको हो ।