सय वर्ष भन्दा पहिले यसरी सुरु गरिएको थियो नेपालमा टेलिफोन सेवा

Newslaya Home

सय वर्ष भन्दा पहिले यसरी सुरु गरिएको थियो नेपालमा टेलिफोन सेवा

आइतबार २६, माघ २०७६

बिबिसि । नेपालको सबैभन्दा पुरानो दूरसञ्चार सेवाप्रदायक नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गत बुधबार १६औँ वार्षिक उत्सव मनायो ।

नेपाल टेलिकमका रूपमा चिनिएको र ९० प्रतिशतभन्दा बढी सरकारको स्वामित्व रहेको कम्पनीले १६औँ वार्षिक उत्सव मनाए पनि यो कम्पनी १६ वर्ष मात्र पुरानो भने होइन ।

सरकारले सर्वसाधारणलाई सेयर बिक्री गर्ने निर्णय गरेर सरकारी स्वामित्वबाट पब्लिक कम्पनीमा रूपान्तरण भएपश्चात्‌को समय गणना गरेर १६औँ वार्षिक उत्सव मनाइएको हो ।

टेलिकमले आफ्नो १६औँ वार्षिक उत्सव मनाइरहँदा नेपालमा टेलिफोन सेवाको सुरुवात भएको भने १ सय ३ वर्षभन्दा बढी भइसकेको छ ।

नेपालमा टेलिफोन, आकाशवाणीजस्ता सेवा सुरु भएपछि तीनको व्यवस्थापन र सञ्चालनका लागि सरकाले बनाएको निकायकै विकास भएर अहिलेको टेलिकम बनेको इतिहासकारहरूले लेखेका छन् ।

नेपालमा टेलिफोन सेवा सुरुवात
नेपालमा टेलिफोन सेवा कहिलेदेखि सुरु भएको थियो भन्नेबारे विवाद कायमै रहेको छ ।

धेरैजसो पुस्तकहरू तथा विभिन्न सन्दर्भ सामग्रीहरूमा नेपालमा विसं १९७० बाटै टेलिफोन सेवा सुरु भएको लेखिएको पाइन्छ ।

सरकारले बनाएका योजनाहरू तथा नेपाल टेलिकमले प्रकाशित गरेका स्मारिका र क्यालेन्डरहरूमा वि.सं १९७० देखि नेपालमा टेलिफोन सेवा सुरु भएको लेखिने गरेको थियो ।

तर नेपाल टेलिकमले २०७२ सालमा प्रकाशित गरेको ‘नेपालमा दूरसञ्चार सेवाको इतिहास’ पुस्तकमा भने पहिलो पटक नेपालमा टेलिफोन सेवाको सुरुवात वि.सं १९७३ सालमा भएको भनी किटान गरियो ।

नेपाल टेलिकमका पूर्व तथा वर्तमान ८ जना कर्मचारीहरू लेखक रहेको उक्त पुस्तकका सम्पादक इतिहासका प्राध्यापक भवेश्वर पंगेनी हुन् ।

त्यस अघि लेखिकएको भन्दा भिन्न मिति उक्त पुस्तकमा लेखिनुको कारणबारे सम्पादक पंगेनी भन्छन्, ‘त्यसअघि जेजति सन्दर्भ सामग्रीहरूमा विसं १९७० सालमा टेलिफोन आएको हो भनी लेखिएको छ त्यसलाई पुष्टि गर्ने प्रामाणिक आधार भेटिएन। त्यसैले कागजी प्रमाणहरू भेटिएका कुरालाई मात्र आधार मानेर उक्त मिति तय गरिएको हो।’

उनका अनुसार उक्त पुस्तक लेखन तथा सम्पादनका क्रममा पटकपटक भएका छलफलहरूमा विसं १९७० सालको उल्लेख भए पनि प्रमाणको अभावमा नेपालमा टेलिफोन भित्रिएको मितिका रूपमा १९७३ साल कामय भएको हो।

उक्त पुस्तकको लेखक मण्डलका एकजना लेखक दिनेश रेग्मीका अनुसार गोर्खापत्रमा प्रकाशित समाचारलाई आधार मानेर विसं १९७३ सालमा नेपालमा टेलिफोन आएको भन्ने विवरण राखिएको हो।

उनले भने, ‘हामीले त्यसबेला गोर्खापत्रमा प्रकाशित सामग्री हेर्‍यौँ त्यो भन्दा गतिलो आधार अरू के होला र ? त्यसैले हामीले उक्त मिति परिमार्जन गरेका हौँ। यो हामीले भेटका तथ्यहरूका आधारमा लेखिएको हो यसबारे थप अध्ययन र अनुसन्धान भएमा अन्य तथ्यहरू पनि आउन सक्छन्।’

उनले खड्ग निशान अड्डा र निजामति सिटरोलको विवरण आधारमा पनि विसं १९७३ को मात्र प्रमाणित गर्न सकिएको बताए।

तर उक्त पुस्तमै नेपालमा त्यसअघि पनि फाट्टफुट्ट टेलिफोन वा टेलिग्राम सेवा चलाइएको भन्ने देखिएको उल्लेख छ।

पुस्तकमा लेखिएको छ, ‘लैनचौरमा रेजिडेन्सी (ब्रिटिश) स्थापना गरिएको केहीपछि बेलायतले आफ्नो देशमा खबर आदानप्रदान गर्नका लागि टेलिग्राम सेवाको व्यवस्था गरेको पाइन्छ ।’

‘ब्रिटिश रेजिडेन्सीमा सेवा सञ्चालमा आएको थियो भन्ने कुरा विभिन्न सामग्रीमा उल्लेख पाइएता पनि यो सेवाका लागि के कस्ता प्रविधि तथा उपकरण जडान गरिएका थिए भन्ने जानकारी भने फेलापरेका छैनन् ।Œ