एक वर्षमा युट्युबले कमायो १५ खर्ब रुपैयाँ

Newslaya Home

एक वर्षमा युट्युबले कमायो १५ खर्ब रुपैयाँ

शनिबार २५, माघ २०७६

काठमाण्डौ । विश्वको सर्वाधिक लोकप्रिय भिडियो स्ट्रिमिङ्ग प्लाटफर्म युट्युबले एक वर्षमा १५ अर्ब डलर कमाएको छ । पछिल्लो रिपोर्ट अनुसार युट्युबले सन् २०१९ मा १५ अर्ब डलर आम्दानी गरेको हो ।

सुन्दर पिचाई गुगलको प्रमुखबाट अल्फाबेट कम्पनीको प्रमुख भएपश्चात् पहिलोपटक सार्वजनिक भएको उक्त रिपोर्टमा पहिलोपटक युट्युबको छुट्टै आम्दानीसमेत देखाइएको हो ।

सन् २०१९ को चौथो त्रैमासिकको रिपोर्ट अनुसार सन् २०१९ मा युट्युबबाट गुगलले समग्रमा १५ अर्ब १५ करोड डलर रकम आम्दानी गर्न सफल भएको छ । त्यसमध्ये ४ अर्ब ७२ करोड डलर रकम चौथो त्रैमासिकमा मात्र गरेको आम्दानी हो । गत वर्ष सन् २०१८ मा युट्युबबाट ११ अर्ब १५ करोड डलर आम्दानी भएको थियो ।

युट्युबबाट भएको आम्दानी सन् २०१९ मा गुगलले गरेको कूल आम्दानीको १० प्रतिशत रकम हो । रिपोर्ट अनुसार सन् २०१८ को तुलनामा सन् २०१९ मा युट्युबको विज्ञापनबाट हुने आम्दानीमा ३६ प्रतिशतले वृद्धि भएको छ ।

हाल युट्युब म्युजिक र युट्युब प्रिमियमका सशुल्क सब्सक्राइबरको संख्या २ करोड पुगेको छ । त्यस्तै, युट्युब टिभीका सशुल्क सब्सक्राइबरको संख्या २० लाख रहेको छ । युट्युबले यस्ता सशुल्क सब्सक्राइबर लगायतका गैर विज्ञापनिक क्षेत्रबाट कूल ३ अर्ब डलर आम्दानी गरेको छ ।