भारत लैजान लागेका दुई युवतीको काँकडभिट्टाबाट उद्दार, एक जना पक्राउ

Newslaya Home

भारत लैजान लागेका दुई युवतीको काँकडभिट्टाबाट उद्दार, एक जना पक्राउ

शुक्रबार १७, माघ २०७६

भद्रपुर । भारतमा जागिर लगाइदिने भन्दै मानव तस्करको फन्दामा फसेका दुई युवतीको उद्दार गरिएको छ । ती युवतीलाई पूर्व नाका झापाको मेचीनगर–६ स्थित काँकडभिट्टाबाट उद्दार गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

भारत लैजान लागेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा दोलखा तामाकोसी गाउँपालिका–४ बस्ने २१ वर्षीय सुदिप बाबु पोखरेल रहेका छन् । प्रहरीका अनुसार काभ्रेपलान्चोक घर भएका १७ र २२ वर्षीय युवतीलाई हेल्थ सम्बन्धी तालिम गराई भारतमा जागिरमा लगाई दिने र त्यस बापत मासिक भारु २२ हजार दिने प्रलोभन देखाएर पोखरेलले उनीहरूलाई भारत लैजान लागेका थिए ।

युवतीका अभिभावकलाई समेत थाहा नदिई पोखरेलले प्रलोभन देखाएर भारत लैजान लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ गरिएको पोखरेललाई झापा जिल्ला अदालतमा पेस गरी मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी मुद्दामा चलाएको छ । उद्दार गरिएका युवतीलाई साना हातहरू भन्ने संस्था काँकडभिट्टाको संरक्षण गृहमा पठाइएको जनाइएको छ ।