धुर्मुस–सुन्तलीको ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

Newslaya Home

धुर्मुस–सुन्तलीको ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

बुधबार १५, माघ २०७६

काठमाडौं । कलाकारिता हुँदै समाजसेवामा होमिएको हास्यजोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टारर कमेडी चलचित्र ‘सेन्टी भाइरस’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलर हेर्दा चलचित्र समसामयिक राजनीतिक विषयवस्तुमा निर्माण भएको बुझ्न सकिन्छ ।

फरक पार्टीमा आबद्ध श्रीमान (सिताराम कट्टेल) र श्रीमती (कुञ्जना घिमिरे) बीचको नोकझोंकलाई ट्रेलरमा विशेष स्थान दिइएको छ । चलचित्रमा सिराताम एक पार्टीमा दत्तचित्त भएर लागेको नेताको भूमिकामा छन् । भने, कुञ्जना आफ्नो पिता (राजाराम पौडेल)को पार्टीलाई समर्थन गर्दै देखिएकी छन् । दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङलाई पनि ट्रेलरमा देख्न सकिन्छ ।

सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित यस चलचित्रमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । २ करोडको लागतमा बनेको चलचित्रको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । चलचित्रका सह–निर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको चलचित्रका निर्देशक ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ हुन् ।

यो फिल्मको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।