स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

Newslaya Home

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

मङ्गलबार १४, माघ २०७६

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

मङ्गलबार त्रिविले आगामी फागुन १४ गतेका लागि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो । प्रस्तावित कार्यतालिका अनुसार फागुन ४ गतेसम्म संघ/संगठन दर्ता गर्ने समय तोकिएको छ । त्यस्तै आगामी फागुन ४ गते नै मतदाता सूची प्रकाशित गर्ने र मतदाता सूची उपर दाबी विरोध गर्ने र अन्तिम मतदाता सूची सार्वजनिक गर्ने कार्यतालिका तय गरिएको छ ।

त्यस्तै, फागुन ५ गते उम्मेदवारको मनोनयनका लागि मनोनयन पत्र वितरण गर्ने, उम्मेदवारको मनोनयनपत्र र समानुपातिक तर्फको उम्मेदवारको शिलबन्दी नामावली दाखिला गरिनेछ । सोही दिन साँझ ५ बजेपछि प्रत्यक्षतर्फको नामावली प्रकाशन गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ ।

फागुन ६ गते उम्मेदवारको नामावली उपर विरोध गर्ने, र सोहीदिन दाबी विरोधमा छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । त्यस्तै फागुन ७ गते उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची तय गरिएको छ ।

फागुन १४ गते हुने मतदानको समय भने क्याम्पस निर्वाचन समितिले तोकेअनुसार हुनेछ ।