वीरेन्द्रनगरमा टिप्पर काण्ड : गोली चलेपछि कर्फ्यु लगाइयो

Newslaya Home

वीरेन्द्रनगरमा टिप्पर काण्ड : गोली चलेपछि कर्फ्यु लगाइयो

मङ्गलबार १४, माघ २०७६

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएपछि सुरु भएको आन्दोलनले उग्र रुप लिएको छ ।

आदोलनले उग्र रुप लिएपछि प्रहरीले गोली समेत चलाएको छ । गोली लागेर करिब ६ जना घाइते भएका छन् । उनीहरुको स्थानीय सुर्खेत हस्पिटल र प्रदेश अस्पतालमा उपचार भइरहेको स्थानीयले जानकारी दिएका छन् । तर, प्रहरीले भने गोली चलाएको कुरा अस्वीकार गरेको छ ।

भिडले उग्र रुप लिएपछि नियन्त्रण गर्न आफूहरुले अश्रु ग्याँस र हवाई फायर मात्र गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दिल्लीराज पन्तले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा साँझ साढे ६ बजेदेखि भोलिबिहान ६ बजेसम्मका लागि कर्फ्यु लगाएको छ । आक्रोशित भएका आफन्तहरुले वीरेन्द्रनगर बजार बन्द गर्नुका साथै टायर बालेर प्रर्दशन गरेका छन् । उनीहरुले वीरेन्द्रनगर बजार क्षेत्रमा रहेका सार्वजनिक स्थलहरुमा तोडफोड समेत गरेका छन् ।

बिहान वीरेन्द्रनगरको जुुम्ला रोडमा टिप्परको ठक्करबाट कालिकोट महावै गाउँपालिका–३ का २० वर्षीय केशर सिंहको मृत्यु भएको थियो । मृतक सिंह चढेको भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ नम्बरको टिप्परले ठक्कर दिएको थियो ।

टप्पर चालकलाई कडा कारबाही तथा क्षतिपूर्तिको माग गर्दै आन्दोलन भइरहेको हो ।