इटहरी र धरान नगर क्षेत्रको फोहोर जंगलमा फाल्न प्रतिबन्ध

Newslaya Home

इटहरी र धरान नगर क्षेत्रको फोहोर जंगलमा फाल्न प्रतिबन्ध

मङ्गलबार १४, माघ २०७६

धरान । सुनसरीको इटहरी र धरान उपमहानगरपालिका क्षेत्रको फोहोर जंगलमा फाल्न रोक लगाइएको छ ।

नगरक्षेत्रको फोहोरहरु जंगलमा जथाभावी फाल्दा वातावरणमा अत्यधिक असर परेको भन्दै वन कार्यालयले रोक लगाएको हो ।

सब डिभिजन वन कार्यालय तरहराले इटहरीबाट फोहोर बोकेको गाडीलाई जंगलतर्फ प्रवेश गर्न रोक लगाइएको छ । इटहरी र धरानले फोहोर फाल्ने गरेको वन क्षेत्रमा वन कार्यालयका अधिकृतहरुले स्थलगत अवलोकन गरे पश्चात यस्तो निर्णय गरिएको हो ।

इटहरी उपमहानगरले एक बर्षको लागि मात्र फोहोर फाल्ने भनेपनि २ बर्ष विति सक्दा सम्म व्यवस्थापनमा ध्यान नदिएकाले हाँसपोशा सामुदायिक वन समुहको हाताभित्र फाल्ने गरेको फोहोरको गाडीलाई फर्काउन थालिएको सब डिभिजन वन कार्यालय तरहराका प्रमुख अवधेशकुमार गच्छदारले बताए ।

यस्तै, धरान उपमहानगरलाई पनि नगर क्षेत्रको फोहोर चाडै अन्यत्र व्यवस्थापन गर्न आग्रह गरिएको छ । बाँझगरा सामुदायिक वन समुहको क्षेत्रमा पर्ने सेउती खोला किनारमा फोहोर फाल्ने गरेको धरानले भने पानवारीमा फोहोरबाट उर्जा निकाल्ने तयारी गरेको र अब २ साताभित्र नै परीक्षण सञ्चालन हुने भएकोले केही समय पर्खिदिन आग्रह गरेको छ ।