भोलिदेखि देशैभर वर्षा र हिमपात

Newslaya Home

भोलिदेखि देशैभर वर्षा र हिमपात

सोमबार १३, माघ २०७६

काठमाडौ । पश्चिमी वायुको प्रभावले फेरि देशैभरीको मौसम प्रभावित बन्ने भएको छ । भू–मध्य सागरबाट सोमबार अपरान्ह्र भित्रिएको जलवाष्पयुक्त वायु (हावामा पानीको अंश)ले बुधबार देशैभर हिउँदे वर्षा र हिमपात हुँदैछ ।

भू–मध्य सागर र अरब सागरको वायुको दोहोरो मिश्रणले मध्य र सुदुर पश्चिमका उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार साँझदेखि नै सुदुरपश्चिमका उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु भइसकेको महाशाखाकी मौसमविद् मञ्जु बासीले बताइन् ।

अहिले भित्रिएको वायुको आंशिक प्रभाव आज मंगलबार मध्य र पूर्वी भेगमा आंशिक प्रभाव पर्ने र भोली सबैभागमा फैलिने र त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असर बिहिबारसम्म रहने उनले बताइन् । डेढ साता अघिको जस्तो निरन्तर झरीको सम्भावना भने नरहेको महाशाखाका अधिकारी बताउँछन् ।

हिउँदे झरी र हिमपात गराउने भू–मध्य सागरको वायु इरान, अफगानिस्तान, पाकिस्तान, भारतको जम्मु काश्मीर हुँदै भित्रिने गर्छ । विज्ञहरुका अनुसार भू–मध्य सागरको वायु जति कम उचाई हुँदै बहन्छ त्यसले अरब सागरको वायुलाई समेत दक्षिण एसियाली मुलुकतर्फ धकेल्न सघाउ पुर्‍याउँछ ।