ओखलढुङ्गामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

Newslaya Home

ओखलढुङ्गामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

सोमबार १३, माघ २०७६

ओखलढुङ्गा । ओखलढुङ्गामा सोमबार (आज) बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् । चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।

गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको बोलेरो दुर्घटना हुँदा विश्वकर्माको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाले जानकारी दिएको छ ।

दुर्घटनामा परेर चालक सोही ठाउँका जीतबहादुर बस्नेत, मृतक विश्वकर्माकी छोरी कल्पना र स्थानीय अमिता बुढाथोकी गम्भीर घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेकाले स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेर अस्पताल लैजाने तयारी गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

बोलेरो सिद्धडाँडाबाट करिब ५०० मिटर तल गोपेखोलामा खसेरको प्रहरीले जनाएको छ ।