हेलिकप्टर दुर्घटनामा बास्केटबलका हस्ती कोबेको निधन

Newslaya Home

हेलिकप्टर दुर्घटनामा बास्केटबलका हस्ती कोबेको निधन

सोमबार १३, माघ २०७६

काठमाडौं । बास्केटबलका चर्चित खेलाडी कोबे ब्रायन्टको आइतबार क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटनामा परि निधन भएको छ ।

कोबेको निजि सिकोर्स्की एस ७६ हेलिकप्टर बाक्लो कुहिरोका कारण पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त भएको बताइएको छ । १८ पटक एनबीए अलस्टार रहेका कोबे आफूले स्थापना गरेको माम्बा एकेडेमीमा प्रशिक्षणका लागि प्रस्थान गर्ने क्रममा दुर्घटना भएको हो ।

स्थानीय प्रहरीका अनुसार ४१ वर्षीय कोबेसहित उनको १३ वर्षीया छोरी जियाना पनि हेलिकप्टरमा सवार थिइन् । हेलिकप्टरमा रहेका ९ जना यात्री सबैले ज्यान गुमाएका छन् । स्थानीय समयानुसार ९ः४५ बजेसम्म हेलिकप्टर सम्पर्कमा रहेको थियो ।

बास्केटबलमा २० वर्ष बिताएका कोबेले आफ्नो खेल जीवनको पूरै समय लस एन्जेलस लेकर्सबाट खेलेका थिए । आफ्नो करीअरमा ५ पटक एनबीए उपाधि जितेका उनले सन् २०१६ अप्रिलमा संन्यास लिएका थिए । आफ्नो खेल जीवनमा उनी १८ सिजन अल स्टार टोलीमा पर्दै दुर्लभ सफलता हात पारे ।

उनको निधनमा विभिन्न फुटबल तथा अन्य स्पोर्ट्स क्लबहरुले शोक व्यक्त गरेका छन् भने बार्सिलोनाका कप्तान लियोनल मेसीले पनि समवेदना प्रकट गरेका छन् ।