प्रदेश २ को राजधानी जनकपुरधाम राख्ने सहमति

Newslaya Home

प्रदेश २ को राजधानी जनकपुरधाम राख्ने सहमति

आइतबार १२, माघ २०७६

धनुषा । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम राख्ने सहमति भएको छ ।

सभामुख सरोजकुमार यादवको संयोजकत्वमा प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउन गठित संसदीय विशेष समितिको आइतबारको बैठकबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम राख्ने सहमति भएको हो ।

जनकपुरधामलाई नै राजधानीको रुपमा कायम गर्ने निर्णय सर्वसम्मतले पारित भएको समितिका संयोजकसमेत रहेका सभामुख सरोजकुमार यादवले जानकारी दिए ।

यादवका अनुसार उत्तरमा धनुषाको मिथिला नगरपालिकाको ढल्केवर, दक्षिणमा भारतको सीमा तथा पूर्व र पश्चिमतर्फ मिथिला माध्यमिकी परिक्रमा क्षेत्रसम्म राजधानीको सिमाना तोक्ने सहमति भएको हो ।

विभिन्न दलका प्रस्तावक तथा समर्थक, प्रस्तावका संशोधनकर्ता समेतलाई बोलाएर छलफल गरी उक्त निर्णयमा पुगिएको सभामुख यादवले बताए । पारित भएको प्रस्ताव नेकपा, समाजवादी र राजपाले दर्ता गरेका थिए भने नेपाली कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाभित्र राजधानी हुनुपर्ने प्रस्ताव गरेको थियो ।


प्रदेशको राजाधानी र नाम सम्बन्धमा विभिन्न दलका सांसदहरूले प्रदेश सभामा भदौ ५ गते प्रस्ताव दर्ता गरेका थियो । प्रदेशको राजधानीको विषयमा विशेष समितिमा टुंगो लागेपनि नामको विषयमा सहमति हुन सकेको छैन । नामको टुंगो लगाउने विषयमा विशेष समितिमा छलफल भइरहेको सभामुख यादवले जनाउनु भएको छ ।