राष्ट्रियसभा निर्वाचनमा नेकपा गठबन्धन विजयी, कांग्रेसको सात सिट गुम्यो

Newslaya Home

राष्ट्रियसभा निर्वाचनमा नेकपा गठबन्धन विजयी, कांग्रेसको सात सिट गुम्यो

शुक्रबार १०, माघ २०७६

काठमाडौं । बिहीबार सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सबै उम्मेद्वार विजयी भएका छन् ।

१८ सिटका लागि भएको निर्वाचनमा नेकपाले १६ सिटमा जितेको छ । बाँकी दुई सिट भने नेकपासँग गठबन्धन गरेको राष्ट्रिय जनता पार्टीका सांसद विजयी भएका छन् । नेपाली कांग्रेस र समाजवादी पार्टीबीच गठबन्धन गरेको सबै उम्मेद्वार पराजित भएसँगै कांग्रेसले राष्ट्रियसभामा सात सिट गुमाएको छ ।

बिहीबार भएको निर्वाचनबाट प्रदेश–१ मा नेकपाका उम्मेद्वारहरु गोपी अछामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भए ।

प्रदेश–२ बाट नेकपाका तुलसाकुमारी दाहाल र राधेश्याम पासवान विजयी भए भने राजपाका शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह निर्वाचित भए ।

बागमतीबाट नेकपाका गंगाकुमारी बेलबासे र देवुराम भुसाल निर्वाचित भए । गण्डकी प्रदेशमा दुई पदका लागि भएको दुवै सिट नेकपाले जित्यो । नेकपाका उम्मेद्वार नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी भए ।

प्रदेश–५ बाट नेकपाकै बिमला घिमिरे र जगप्रसाद शर्मा विजयी भए । कर्णाली र सूदुरपश्चिमबाट पनि नेकपाकै उम्मेद्वार विजयी भए । कर्णाली प्रदेशबाट सुमित्रा बिसी र मायाप्रसाद शर्मा तथा सूदुरपश्चिम प्रदेशबाट शारदादेवी भट्ट र तारामान स्वाँर विजयी भए ।

कांग्रेसले समाजवादी पार्टीलाई २ सिट दिएर गठबन्धन गरे पनि जित हात पार्न सकेन ।