सिद्धबाबालाई थुनामा राख्न अदालतको आदेश, आदेश आउने थाहा पाएर भारत फरार

Newslaya Home

सिद्धबाबालाई थुनामा राख्न अदालतको आदेश, आदेश आउने थाहा पाएर भारत फरार

बिहीबार ०९, माघ २०७६

इटहरी । सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थुनामा राखेर कानूनी कार्वाही गर्न उच्च अदालतले आदेश दिएको छ ।

बिहिबार उच्च अदालतको १ नम्बर बेन्चमा मुख्यन्यायधिस तिलप्रसाद श्रेष्ठ र न्यायधिस प्रेमराज कार्कीको इजलासले सो आदेश दिएको हो ।

नेपाल सरकारका तर्फबाट गोकुल निरौंला, उप न्याधिवक्ता पदम वस्ती, भगवती सुवेदी, सह न्याधिवक्ता राकुमार थापा बहस गरेका थिए । जाहेरवालको तर्फबाट नीजि वकिल डिल्ली दाहाल र कोषराज न्यौपानेले बहस गरेका थिए ।

मुख्य न्यायाधीश श्रेष्ठ र कार्कीको संयुक्त इजलासले जिल्लाको आदेश वेरितको भएको ठहर गरेको छ ।

गत बिहीबार नै पेसी तोकिएको मुद्दाको सुनुवाई बलात्कार पीडित भनिएकी महिलाका कानुन व्यवसायीले हटाएपछि स्थगित भएको थियो । विहीबार मुद्धामा बहसपछि उक्त आदेश दिएको हो ।

उता आदेश आउने चाल पाएलगत्तै कृष्णदास भने भारत फरार भएका छन् । सरकारले दिएको प्रहरी र गाडी सिमानामै छाडेर जोगबनी हुँदै भारत लागेका हुन् ।

कृष्णदासका अनुयायीले भने उपचारको लागि भारत गएको बताएका छन् । अनुयायीहरुले चार दिनको लागि भारत गएको उनीहरुले दावी गरेका छन् । तर मुद्धामाथि बहस भएर आदेश आउनै लाग्दा उनको भारत बहिर्गमनलाई अस्वभाविक मानिएको छ ।

दीक्षा दिने भन्दै बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरीपछि सिद्धबाबामाथि अनुसन्धान हुँदै आएको छ । उनलाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जवरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो । पक्राउ परेपनि उनी पहुँचको भरमा विराटनगरस्थित नर्सिङ होममा बसेर बयान दिएका थिए ।

मुटुको समस्या भएको भन्दै उनी अस्पताल बसेका थिए ।

पछि जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले मागेको धरौटी वापतको तीन लाख रुपैयाँ बुझाएर पुस १४ गते उनी छुटेपछि मुद्दा उच्चमा पुगेको थियो । उच्च अदालतमा महिलाले कृष्णदासलाई पक्राउ गरेर अनुसन्धान गर्न भन्दै मुद्धा हालेकी थिइन् ।

उच्च अदालतमा कृष्णदासले समेत ती महिलाविरुद्ध मुद्धा हालेका थिए । तर बिहीबार पक्राउको आदेश आउने पक्का पक्की भएपछि कृष्णदास भारततर्फ पलायन भएका हुन् ।