अवैध रूपमा नेपाल प्रवेश गर्ने चिनियाँलाई सात दिनभित्र बुझाउने गरी चीनसँग सम्झौता

Newslaya Home

अवैध रूपमा नेपाल प्रवेश गर्ने चिनियाँलाई सात दिनभित्र बुझाउने गरी चीनसँग सम्झौता

बुधबार ०८, माघ २०७६

बिबिसि । नेपाल र चीनबीच भएको सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौतामा बिनाकागजात एकअर्काको देश प्रवेश गर्नेहरूलाई हिरासतमा राखेको सात दिनभित्र हस्तान्तरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

हस्तान्तरण गर्न नसकिए स्पष्ट कारण खुलाउनुपर्ने बीबीसीले प्राप्त गरेको दस्तावेजमा उल्लेख छ ।

चिनियाँ राष्ट्रपति सी जिन्पिङ गत अक्टोबरमा नेपाल भ्रमणमा आउँदा उक्त सम्झौतामा दुई देशका परराष्ट्रमन्त्रीले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौताले सीमाङ्कन र त्यससम्बन्धी स्तम्भहरूको व्यवस्थापन र सीमा क्षेत्रमा हुन सक्ने अपराधबाहेक जलस्रोत र पूर्वाधारजस्ता विषय पनि समेटेको छ ।

संसद्‍मा पेश गरिएको लिखित धारणामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त सम्झौताको उद्देश्य सीमा क्षेत्रलाई स्थायी शान्ति र दिगो मित्रताको क्षेत्र निर्माण गर्ने रहेको बताएका छन् ।