इन्टरनेटमा अझै भारतकै भर, चिनियाँ इन्टरनेटको खपत बढाउन कठिन

Newslaya Home

इन्टरनेटमा अझै भारतकै भर, चिनियाँ इन्टरनेटको खपत बढाउन कठिन

बुधबार ०८, माघ २०७६

बिबिसि । नेपालले भारतसँगको निर्भरता तोड्नका लागि चीनबाट समेत इन्टरनेट खरिद गर्न सुरु गरेको डेढ वर्ष बित्दा पनि अवस्था धेरै परिवर्तन हुन नसकेको अधिकारीहरूले बताएका छन् ।

भारत र चीनसँग मात्रै जोडिएको नेपालमा अन्य मुलुकबाट सिधै इन्टरनेट ल्याउन सकिने अवस्था नरहेका कारण नेपालले चीनबाट पनि इन्टरनेट ल्याउने प्रक्रिया अघि बढाएको थियो ।

सरकारी स्वामित्व रहेको नेपाल टेलिकमले हाल केरुङ हुँदै चीनबाट डेटा आयात गरिरहेको छ तर तथ्याङ्कमा चीनबाट आयात गरिएको डेटाको परिमाण निकै कम देखिन्छ ।

चीनलाई वैकल्पिक स्रोत कायम राख्दा इन्टरनेटको मूल्य घट्ने र गुणस्तर सुधार हुने अनुमान गरिए पनि त्यसमा पनि खासै फरक आएको छैन ।

नेपाल टेलिकमका सह(प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार टेलिकमले दिँदै आएको इन्टरनेटमा चीनको हिस्सा पाँचदेखि छ प्रतिशत छ ।

अन्य इन्टरनेट सेवा प्रदायकहरूले भने चीनबाट डेटा खरिद नगरेको नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीहरू बताउँछन् ।