सभामुखको उम्मेदवारी पार्टीले नदिँदा गगन थापाको असन्तुष्टि

Newslaya Home

सभामुखको उम्मेदवारी पार्टीले नदिँदा गगन थापाको असन्तुष्टि

बुधबार ०८, माघ २०७६

काठमाडौं । प्रतिनिधि सभाको रिक्त सभामुख पदमा पार्टीले उम्मेदवारी नदिएकोमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले असन्तुष्टि जनाएका छन् ।

अर्जुन लामा हत्या आरोपी नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने निर्णय गरेर उम्मेदवारी दिए पनि प्रतिपक्षी कांग्रेसले उनीविरूद्ध उम्मेदवारी नदिएकोमा पार्टीभित्र नेतृत्वको आलोचना गरिएको हो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने तयारी गरे पनि संसदीय कार्यसमिति बैठकले सभामुख पद तटस्थ हुने भन्दै उम्मेदवारी नदिने निर्णय गरेको थियो ।

‘शान्ति प्रकृया विशेष राजनीतिक परिस्थिति हो तर यसको अर्थ द्वन्द्वका गम्भीर अपराधको वेवास्ता र दोषीको उन्मुक्ति होइन,’ थापाले भनेका छन्, ‘नेकपा अध्यक्षको हलुका अभिव्यक्ति, सत्तापक्षको निर्णय र प्रतिपक्षको साथ निको देखिँदैन। विशिष्ट पदको आवरणमा न्यायिक प्रक्रियामा पूर्णविराम लगाउने प्रयत्न नहोस् !’

सांसदसमेत रहेका केन्द्रीय सदस्य थापाले ट्वीट गर्दै द्वन्द्वकालको गम्भीर अपराधको वेवास्ता गर्न नहुने उल्लेख गरेका छन् । सभामुख पदमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ ।

सर्वोच्च अदालतमा व्यक्ति हत्या आरोपमा मुद्दा रहेको सभामुखका एक्ला उम्मेदवार सापकोटालाई माघ १२ गते सभामुख चयन भएको घोषणा जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् ।