घुस लिएको आरोपमा प्रहरी हवल्दारविरुद्ध भ्रष्टाचारको मुद्धा

Newslaya Home

घुस लिएको आरोपमा प्रहरी हवल्दारविरुद्ध भ्रष्टाचारको मुद्धा

मङ्गलबार ०७, माघ २०७६

काठमाडौं । घुस लिएको आरोपमा मोरङको इलाका प्रहरी कार्यालय उर्लावारीमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा मंगलबार मुद्धा दर्ता गरिएको छ ।

काठ फर्निचरको कारोबारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग आठ हजार रुपैयाँ घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठविरुद्ध मुद्धा दर्ता गरेको हो ।

इटहरीबाट खटिइएको आयोगको टोलीले श्रेष्ठलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा श्रेष्ठले सेवाग्राहीको व्यवसाय संचालनमा सहज गरिदिने भनी घुस लिएको तथ्य पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।