उपसभामुख पदमा राजपाको सम्भावना ! चर्चामा चन्दा चौधरी र अमृता अग्रहरी

Newslaya Home

उपसभामुख पदमा राजपाको सम्भावना ! चर्चामा चन्दा चौधरी र अमृता अग्रहरी

मङ्गलबार ०७, माघ २०७६

काठगमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेसँगै उपसभामुख पद राजपाले पाउने भएको छ ।

सापकोटाको उम्मेदवारीमा राजपा नेता लक्ष्मणलाल कर्ण समर्थक बसेसँगै उपसभामुखको पद राष्ट्रिय जनता पार्टीले पाउने निश्चित भएको हो । राजपालाई उपसभामुख दिने कि नदिने भन्नेबारे नेकपाभित्र एक मत भइ नसकेको भएपनि राष्ट्रिय जनमोर्चाले उपसभामुख नलिँदा राजपाको सम्भावना बढेको बताइएको छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले पनि उपसभामुखमा दाबी गरेको छ । यसअघि संसदीय सुनुवाई विशेष समितिको सभापतिसमेत राजपालाई दिएका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपसभामुख कांग्रेसलाई दिन चाहेका छैनन् ।

उपसभामुख संवैधानिक परिषदको सदस्य समेत हुने भएकाले प्रधानमन्त्री ओलीले कांग्रेसलाई बनाउन नचाहेको नेकपा स्रोतले जनाएको छ ।

समाजवादीसँग गठबन्धन नरुचाएका ओलीले यसअघि राष्ट्रियसभामा राजपासँग मिल्ने निर्णय पनि आफैं गरेका थिए । राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ का चार सिटका लागि गठबन्धन गरेका नेकपा र विपक्षी राजपाबीच सभामुख तथा उपसभामुख निर्वाचनमा पनि अघोषित गठबन्धन देखिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले सभामुखमा उम्मदेवारी नदिने निर्णय गरेर सापकोटाका लागि मार्गप्रशस्त गरिदिएको छ ।

नेकपाका नेताहरुका अनुसार उपसभामुख कसलाई दिने भन्ने निर्णय नभए पनि राजपाले पाउने सम्भावना बढी छ । यता राजपाबाट उपसभामुखमा चन्दा चौधरी र अमृता अग्रहरी प्रमुख दाबेदारका रुपमा चर्चामा आएका छन् ।

चन्दा महन्थ ठाकुर निकट हुन् भने अग्रहरी राजेन्द्र महतो निकट मानिन्छन् । सभामुख पुरुष भएपछि उपसभामुख महिला हुनैपर्ने भएकाले राजपाका प्रतिनिधिसभामा समानुपातिक सांसद चन्दा चौधरी, अमृता अग्रहरी, रानी मण्डल, रेणु शर्मा र दुलारी देवीमध्ये एक हुने सो पार्टीका नेताले बताए ।

प्रत्यक्षतर्फ महिला सांसद नभएको राजपाबाट उपसभामुखमा चन्दा चौधरीको सम्भावना रहेको एक नेताले बताए ।