मकवानपुरको एक रिसोर्टमा बसेका ८ जना भारतीय पर्यटकको मृत्यु

Newslaya Home

मकवानपुरको एक रिसोर्टमा बसेका ८ जना भारतीय पर्यटकको मृत्यु

मङ्गलबार ०७, माघ २०७६

काठमाडौं । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा बसेका ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भइसकेको छैन ।

मंगलबार (आज) बिहान होटलमा बेहोस अवस्थामा भेटेपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । लगत्तै ४ पुरुष र ४ महिला भारतीय पर्यटकलाई हेलिकोप्टरमार्फत उद्दार गरेर काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।

हेम्स अस्पतालमा उपचारका क्रममा सबैको मृत्यु भएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने तयारी भइरहेको छ । प्रारम्भिक अनुसन्धानले कोठाको झ्याल, ढोका बन्द गरेर हिटर चलाएर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए । तीमध्ये ८ जना एउटै कोठामा सुतेका थिए ।