प्रदेश एकको लोकसेवा आयोग अध्यक्षमा उत्तमकुमार भट्टराई सिफारिस

Newslaya Home

प्रदेश एकको लोकसेवा आयोग अध्यक्षमा उत्तमकुमार भट्टराई सिफारिस

सोमबार ०६, माघ २०७६

विराटनगर । प्रदेश एकको लोकसेवा आयोगका अध्यक्षमा खोटाङका उत्तमकुमार भट्टराईलाई नियुक्त गर्न सिफारिस गरिएको छ ।

सोमबार प्रदेश १ को लोकसेवा आयोग गठनसम्बन्धी ऐनअनुसार सिफारिस समितिले तीन जनाको नाम प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो ।

अध्यक्षमा पूर्वकृषि सचिव रहेका भट्टराई सहित सदस्यमा टीकादत्त राई र सीमा आभाष सिफारिस भएका छन् ।

प्रदेश १ मुख्यमन्त्री कार्यालयका सचिव रहेका टीकादत्त राईले आयोगमा नियुक्ति पाउने भएसँगै राजीनामा दिएका छन् । नियुक्तिका लागि सिफारिस भएमध्ये कांग्रेसको कोटाबाट सदस्य भएकी आभाष साहित्य क्षेत्रमा समेत सक्रिय छिन् ।

प्रदेश लोकसेवा आयोग सिफारिस समितिमा मुख्यमन्त्री, सभामुख र प्रमुख विपक्षी दलका नेता रहने प्रावधान रहेको छ ।