एउटा तस्वीरले बदलिएको कथा

Newslaya Home

एउटा तस्वीरले बदलिएको कथा

– भूमिका पाख्रिन
सोमबार ०६, माघ २०७६

सुगम जिल्लाको दुर्गम गाँउपालिकाको रुपमा परिचित मोरङको साविक सिंहदेवी गाविस हालको केराबारी गाँउपालिकाको वडा नं. २ मा गाँउपालिका उपाध्यक्ष शान्ति लिम्बू भूजेलको टोली पुसको कठ्याङ्ग्रीदो जाडोमा योजना अनुगमनका क्रममा निस्कियो । फाङदुवा भन्ने गाँउमा पहिलो चोटी गाडी पुग्ने गरी ट्रयाक खोलिएको भएकाले पनि सबै उत्साहित देखिन्थे । योजना अनुगमन सकिएपश्चात घर फर्कने सुरसार कस्दा आफ्नै गाँउपालिकाको एक विकट गाँउ फाङ्दुवामा एक दृश्य उपाध्यक्ष लिम्बूको आँखैमा टक्क अडियो ।

करीब ४/५ वर्ष जस्तो देखिने एक बालिकाले अर्की काखे बालिकालाई पिठ्युमा बोकेको र अत्यन्तै जाडोको समयमा पनि शरीर ढाक्ने उती कपडा नभएको दृश्य देखेपछि उपाध्यक्ष लिम्बूले मन थाम्न सकिनन् र आफैले ओढेको लुगा (बर्को) ओढाइदिइन् र सुरु भयो ती बालिकाको परिवार खोज्ने काम ।

उनले कुराकानीका क्रममा भनिन्, ‘यतिका चिसोको समयमा पनि नानीहरुसँग पुरा शरीर ढाक्ने लुगा थिएन । हात खुट्टा फुटेर अत्यन्तै दयनीय अवस्था थियो । शारीरिक रुपमा पनि अशक्त देखिन्थे नानीहरु, मन थाम्नै गाह्रो भयो ।’ परिवारबारे सोधीखोजी गर्दा केही जानकारी पाइन् र लिम्बूसहितको टोली आ–आफ्नो घर फर्किए ।

ती बालबालिकाको दयनीय अवस्थाले उपाध्यक्ष लिम्बूलाई चुपचाप बस्न दिएन र उनले लेटाङकी सामाजिक अभियान्ता जो लिम्बूको साथी पनि थिइन्, उनै शान्ति पाख्रिन लामालाई उक्त घटनाबारे जानकारी गराइन् । उपाध्यक्ष लिम्बूले ती बालबालिकालाई देख्दा नै एक तस्वीर खिचेकी थिइन् उक्त तस्वीर समेत राखी केही सहयोगका शब्द सहित अभियान्ता शान्ति पाख्रिन लामाले फेसबुकको आफ्नो वालमा शेयर गरीन् ।

केही समयमै उक्त तस्वीर भाइरल भयो । तस्वीर विभिन्न अनलाइन पत्रपत्रिका देखि कयौंका फेसबुकका भित्तामा छाए । संहयोगका लागी फोन र म्यासेजहरु आइ नै रहे । अभियान्ता पाख्रिनले भनिन्, ‘फोटो राखेपछि नसोचेकै प्रतिक्रिया आयो । सहयोगी मनहरु यति धेरै हुनभयो की म शब्दमा व्यक्त गर्न समेत सक्दिन ।’ अत्यन्तै सकारात्मक सहयोग पाएपछि खाद्यान्न लत्ता कपडा सहितको टोली फाङ्दुवा पुग्यो ।

केराबारी गाँउपालिकाको व्यवस्थापनमा अभियानकर्मी, सहयोगी दाताहरुको सहयोगबाट ती बालिकाहरुका परीवार हर्षित बने । हाल उक्त परीवारको लागी शान्ति पाख्रिन लामाको संयोजकत्वमा ५ सदस्यीय राहत संकलन समिति गठन समेत गरीएको छ ।

बालबालिकाको दयनीय अवस्था देखेपछि परीवारको खोजी कार्यलाई तीब्रता दिइयो र थाहा भयो उक्त परिवारको वास्तविकता । उमेरले करीब ४ दशक पुगेकी मनमाया राई जन्मजात नै उती कान सुन्दिनन् थिइन् । चर्को आवाजले बोल्दा मात्रै थोरै थोरै सुन्ने मनमाया राई त्यसो त आँखा पनि कम देख्छिन् । उनलाई सहजै कुनै चिज ठम्याउन हम्मे हम्मे पर्छ । २०६० सालमा विवाह भएको बताउने राई दम्पतीको २०६१ सालमा पहिलो सन्तान छोरी र दोस्रो, तेस्रो र चौथो सन्तान गरी ४ छोरी रहेका छन् ।

जन्मजात नै माहिली छोरी बाहेक अन्य तीनैजना छोरीहरु आँखा कम देख्ने, कान कम सुन्ने शारीरिक रुपमा अशक्त जन्मिए । त्यसो त कान्छी छोरीको हिडडुल्मा पनि समस्या छ भने उनी कुपोषणको समेत शिकार भएकी छिन् । झट्ट हेर्दा डेढ वर्षीया झै लाग्ने उनी ५ वर्ष पुरा भइसकेकी छिन् । माहिली छोरी भने आफन्तको आश्रयमा बस्छिन् ।

शारीरिक रुपमा अशक्त भएकै कारण मनमाया न त मेलापातमा जान सक्छिन् न आफ्ना जग्गामा बाली लगाएर आफ्ना बालबालिका स्याहार्न नै सक्छिन् । गएको वर्षको भाद्र महिनामा परिवारको मुली अर्थात मनमायाका श्रीमानको निमोनियाका कारण मृत्यु भएपछि उनलाई ठुलो बज्रपात आइप¥यो । सुस्त मनस्थितीकी मनमाया शारीरिक रुपमा अशक्त तीन छोरीकी साथमा विकट गाँउ फाङ्दुवामा बस्छिन् ।

तस्वीर प्रकाशित भएसँगै मनमायाको परिवारको लालन पालन र औषधि उपाचारको लागी भनेर विभिन्न संघसंस्था, व्यवसायी, समाजसेवी र विभिन्न मुलुकमा रहेका नेपालीहरुबाट सहयोग रकम आउने क्रम बढेको अभियानकर्मी शान्ति पाख्रिन लामा बताउँछिन् । त्यसो त हाल २ लाख ६० हजार भन्दा बढी रकम संकलन भइसकेको र सहयोग रकम थपिने क्रम जारी रहेको उनले बताइन् ।

हाल औषधि उपचारको लागी आफूहरु अगाडि बढेको बताउँदै बालबालिकाको शिक्षा दीक्षाकै लागी पनि तयारी थालिएको पाख्रिनले बताइन् । त्यसो त मनमायाको घर अत्यन्तै पुरानो र फुसको छानो हुनुका साथै माटोको गारो प्रयोग गरीएकाले पनि जोखिम उत्तिकै छ । घरको दयनीय अवस्था देखेर वडा कार्यालयले जस्ता (टीन) प्रदान गर्ने तथा स्थानीयले पुनर्निर्माणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिसकेको स्थानीय मिलन राईले बताए ।

मनमायाको परिवारसहित लेटाङ बजारमा भेटिएका मिलनले अभियानकर्मी पाख्रिनहरु सहित बालबालिकाको उपचारका लागी लेटाङ आएको बताए । बालबालिकाको उपचार लेटाङमा संम्भव नभएता पनि डाक्टरहरुसँग सल्लाह गरेर विराटनगर र त्यहापनि संम्भव नभए काठमाडौं लगिने तयारीका साथ लेटाङ झरेको राई बताउछन् । बालबालिकाको निशुल्क उपचारको लागी समेत पहल थालिएको उनले बताए ।

सामाजिक सञ्जालको सही सदुपयोगले मनमायाको परिवारमा केही आशाको दियो पक्कै बलेको छ । हाल ती बालबालिकाको स्वास्थ्य उपचार र तत्पश्चात सिंगो शिक्षा दीक्षाको पाटो भने त बाँकी नै छ तथापी सम्बन्धित सम्पूर्ण निकायको ध्यानाकर्षण हुनु जरुरी छ ।