भारतीय गोर्खा र दार्जिलिङ चिनाउन चौवन्दी–फरियामै दौडिन् सोनिया

Newslaya Home

भारतीय गोर्खा र दार्जिलिङ चिनाउन चौवन्दी–फरियामै दौडिन् सोनिया

आइतबार ०५, माघ २०७६

दार्जिलिङ । आइतबार टाटा मुम्बई म्याराथनमा दार्जिलिङकी सोनिया राईले अन्तर्राष्ट्रियस्तरको म्याराथनमा चौबन्दी र फरिया लगाएर दौडिन् ।

परम्परालाई भत्काउँदै ‘दौड़ जित्नका लागि होइन तर भारतीय गोर्खा र दार्जिलिङ पहाड़का गर्व र परिचय देखाउन’ मुम्बई पुगेकी सोनिया ४२ किलोमिटरको फुल म्याराथनमा दशौं स्थानमा आइन् । उनले ४ घण्टा १६ मिनट ४२ सेकेन्डमा दौड़ पूरा गरिन् ।

‘अन्तर्राष्ट्रियस्तरको टाटा मुम्बई म्याराथनमा मलाई दौड़ जित्नभन्दा बढ़ी हामी गोर्खाको गर्व र परिचय देखाउनु थियो’, उनले थपिन्, ‘यसैले मैले चौबन्दी र फरिया लगाएर दौड़िने निर्णय गरेकी हुँ, जसमा म सफल पनि भएकी छु ।’

सोनियाका अनुसार ४२ किलोमिटरको दौड़मा ९६२२ धावक थिए, यसमा उनी दशौं स्थानमा आउन सफल भइन् ।

२६ वर्षीय सोनिया राई दार्जिलिङस्थित रामपुरे बस्तीनिवासी हुन् । उनी पछिल्ला केही वर्षयता क्षेत्रीय र राज्यस्तरीय म्याराथनमा धेरैपटक अरूभन्दा आफू अब्बल राख्दै आएकी छन् । टाटा मुम्बई म्याराथनमा भने उनले पहिलोपटक सहभागिता जनाएकी थिइन् ।

अर्कोतिर ‘वी आर गोर्खाज्, प्राउड टु बी इण्डियन’ स्लोगान लेखिएका भेस्ट लगाएर म्याराथन दौड़िँदै आएका रन विथ रोशनीका धावकहरूले पनि मुम्बई म्याराथनमा उत्कृष्ट प्रदर्शन गरेका छन् । कालेबुङकी रोशनी राईको परिकल्पना र नेतृत्वमा २०१२ मा स्थापित रन विथ रोशनीमा दार्जिलिङ र कालेबुङका धावकहरू सामेल छन् ।

टाटा मुम्बई म्याराथनअन्तर्गत ४० देखि ४५ वर्ष आयु वर्गमा १० किलोमिटरको दौडमा रन विथ रोशनीकी धाविका सरस्वती राईले पहिलो स्थान ओगटिन् । त्यसैगरी २१ किलोमिटरको हाफ म्याराथनमा विवेक छेत्री दोस्रो भए ।