छापाखानाले २० वर्षमुनिकाको विवाह निमन्त्रणा कार्ड नछाप्ने

Newslaya Home

छापाखानाले २० वर्षमुनिकाको विवाह निमन्त्रणा कार्ड नछाप्ने

शनिबार ०४, माघ २०७६

काठमाडौं । सल्यान जिल्लाका छापाखानाहरुले २० वर्ष उमेर नपुगेकाहरुका विवाह निमन्त्रणा कार्ड नछाप्ने भएका छन् ।

शुक्रबार जिल्लामा बाल विवाह न्युनिकरणको अभियान चलाएको प्रहरीसँग छापाखाना संचालकहरुले २० वर्ष उमेर नपुगेकाहरुकाहरुको विवाह कार्ड नछाप्ने प्रतिबद्धता जनाएका हुन ।

जिल्ला प्रहरी कार्यालय सल्यानमा पत्रकार सम्मेलन गरी सात वटा छापाखानाले प्रतिवद्धता पत्र सार्वजनिक गर्दै वालविवाह न्युनिकरणमा छापाखानाहरुको पनि साथ र सहयोग आवश्यक रहेकाले यस अभियानमा सहयोग गर्ने मनसायले अघि बढेको खलंगामा रहेको गीटा अफसेट प्रेसका संचालन प्रकाश थापाले बताए ।

यस्तै छापाखाना संचालकहरुले वालविवाह न्युनिकरणमा सहयोग गर्न जन्मदर्ता हेरेर मात्रै विवाहको निमन्त्रणा कार्ड छाप्ने भएका छन् । कार्ड छाप्दा वर र वधुको जन्मदर्ता पनि सुरक्षित राखिने र वरवधु मध्ये दुवैको उमेर २० वर्ष पुग्ने भए मात्रै विवाह निमन्त्रणा कार्ड छापिने भएको एसके छापाखानाका संचालक शिखर केसीले जानकारी दिए ।

छापाखाना, पण्डित, अभिभावक, वालवालिका सवैलाई सचेत गराएको र त्यसको नतिजा सकारात्मक हुने भएकाले जिल्ला भित्र बाल विवाह न्युन गर्न सक्रिय रुपमा अभियान चालेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी ढकेन्द्र खतिवडाले बताए ।

समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालयले एक वर्षको अवधिमा विवाह मण्डपमै पुगेर आधा दर्जन वालविवाह रोकेको छ । प्रहरीले पण्डितहरुलाई समेत वालविवाह गर्नेको साइत नहेर्न र विवाह नगराउन सचेत गराउदै तालिम समेत दिएको छ ।