व्यवसायीलाई आवश्यक १० वटा वेबसाइटहरू (लिङ्क सहित)

Newslaya Home

व्यवसायीलाई आवश्यक १० वटा वेबसाइटहरू (लिङ्क सहित)

शनिबार ०४, माघ २०७६

काठमाडौं । राज्यको सीमा भित्र सञ्चालित कुनै पनि व्यवसायीले राज्यको आफ्नै नियम तथा कानुन पूरा गरेर मात्र कामलाई सुरु गर्न र निरन्तरता दिनु पर्दछ ।

व्यवसायलाई प्रभाव पार्न सक्ने सरकारका निकायहरूले जारी गरेका नयाँ नियम र कानुनका बारेमा जानीराख्न अति आवश्यक भएकाले पनि समय अनुसार बदलिने कानुन सँगसँगै चल्न सक्नुपर्छ ।

त्यस कारण सबै व्यवसायीले फर्म वा कम्पनी कहाँ र कसरी दर्ता गराउने, कर कहाँ तिर्ने, चलेको नियम तथा कानुनका बारेमा कहाँबाट थाहा पाउने? जस्ता जानकारीहरू व्यवसाय सञ्चालन गर्दा आफूसँग हुन जरुरी हुन्छ।

यस्ता जानकारी पाउन सम्बन्धित कार्यालय पुगिराख्न सम्भव नहुँदा हिजोआज सरकारका विभिन्न कार्यालय र मन्त्रालयहरूले आआफ्ना वेबसाइटहरू बनाएका छन् । ती वेबसाइटबाट जो कोहिले इन्टरनेटको सहयोग लिई चाहिएको कार्यालयबाट आधिकारिक जानकारी लिन सक्छन् ।

व्यवसायीलाई आवश्यक १० वटा वेबसाइटहरू यसप्रकार छन्ः

घरेलु तथा सना उद्योग विभाग

http://www.dcsi.gov.np/en घरेलु तथा साना उद्योग विभागको वेबसाइट हो। घरेलु तथा साना उद्योगहरूले उद्योग दर्ता , नवीकरण , पुँजी तथा क्षमता वृद्धि , ठाँउसारी , नामसारी गर्ने, लघु कर्जा लिने बारे यस वेबसाइटबाट जानकारी लिन सक्छन् ।

कम्पनी रजिष्टारको कार्यालय

http://www.ocr.gov.np  कम्पनी रजिष्टारको कार्यालयको वेबसाइट हो। यो कार्यालयबाट कम्पनी दर्ता गर्न सकिन्छ| यस वेबसाइटबाट कम्पनी सम्बन्धी जानकारी र कागजातहरू हेर्न तथा बुझ्न सकिन्छ ।

नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग

www.ird.gov.np  नेपाल सरकार आन्तरिक राजस्व विभागको वेबसाइट हो। सरकारको कर नीति अनुरूप प्रत्यक्ष कर आयकर तथा अप्रत्यक्ष कर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, स्वास्थ्य सेवा कर, शिक्षा सेवा शुल्क जस्ता आन्तरिक कर नीति निर्माण गर्ने र ती कर नीतिको कार्यान्वयन र प्रशासन तथा अनुगमन राजस्व विभाग गर्छ ।

नेपाल कानुन आयोग

http://www.lawcommission.gov.np  नेपाल सरकार नेपाल कानुन आयोगको वेबसाइट हो। यसले नेपालका सम्पूर्ण कानुनहरूलाई समीक्षा र सुधार गर्ने काम गर्दछ । कानुन आयोगको वेबसाइटमा व्यवसायीहरूलाई चाहिने सम्पूर्ण कानुनहरू सजिलै डाउनलोड गरी पढ्न बुझ्न सकिन्छ ।

नेपाल लेखामान बोर्ड

http://www.standards.org.np  नेपाल लेखामान बोर्डको वेबसाइट हो। यो नेपाल सरकारद्वारा स्थापित एक स्वायत्त र वैधानिक अङ्ग हो। यसले आर्थिक विवरण तयारी र प्रस्तुतिको लागि लेखा मानकहरू तय गर्ने र जारी गर्ने काम गर्छ। यसले साना व्यवसाय गर्ने देखि ठुला उद्योगहरू समेतका लागि आर्थिक विवरण तयारी र प्रस्तुतिको लागि लेखा मानकहरू तय गर्दछ ।

नेपाल राष्ट्र बैङ्क

https://www.nrb.org.np  नेपाल राष्ट्र बैङ्कको वेबसाइट हो । यो नेपालको केन्द्रीय बैङ्क हो। यसले नेपालका सबै बैङ्कहरूलाई नियन्त्रण गर्छ। व्यवसायीहरूले बैङ्कहरूले लिने ब्याजदर, विदेशी नीति तथा नियमहरू, इजाजतपत्र नीति आदि लगायतका जानकारीहरू यस वेबसाइटबाट पढ्न सक्छन् |

सहकारी विभाग

http://www.deoc.gov.np  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अन्तर्गत सहकारी विभागको वेबसाइट हो। जसरी राष्ट्र बैङ्कले बैङ्कहरूको निगरानी गर्छ, त्यसरी नै यसले पनि सहकारीहरूको निगरानी गर्छ। व्यवसाय गर्ने क्रममा तपाईँ सहकारीसँग कारोबार गर्दै हुनुहुन्छ भने तपाईँलाई यो वेबसाइटबाट महत्त्वपूर्ण जानकारीहरू प्राप्त गर्न मद्दत पुग्छ ।

नेपाल सरकारको आधिकारिक पोर्टल

http://www.nepal.gov.np/  नेपाल सरकारको आधिकारिक पोर्टल हो । यस भित्र व्यवसाय शीर्षकमा क्लिक गर्दा नेपालमा व्यवसाय गर्दा आवश्यक सम्पूर्ण जानकारी प्राप्त गर्न सकिन्छ ।

नेपाल धितोपत्र बोर्ड

http://sebon.gov.np  नेपाल धितोपत्र बोर्डको आधिकारिक वेबसाइट हो। यसबाट पब्लिक कम्पनीहरूले सेयर जारी गर्ने अनुमति लिन सक्छन्। यसले धितोपत्र (सेयर) जारी, बिक्री वा साटासाट गर्ने कार्यलाई निगरानी गर्ने काम गर्छ ।

कृषि विभाग

http://www.doanepal.gov.np/ne/ कृषि विभागको वेबसाईट हो। नेपाल कृषि प्रधान देश भएकोले यहाँका धेरै व्यवसायहरू कृषि मै निर्भर छन् । कृषि सम्बन्धी सरकारका सम्पूर्ण नीति नियम कार्यन्वयन कृषि विभाग बाटै गरिन्छ ।