गुणस्तरीय दुग्ध उत्पादन गर्दै प्रकाशपुर दुग्ध उत्पादक सहकारी

Newslaya Home

गुणस्तरीय दुग्ध उत्पादन गर्दै प्रकाशपुर दुग्ध उत्पादक सहकारी

- बाबुराम कार्की
शुक्रबार ०३, माघ २०७६

प्रकाशपुर । गुणस्तरीय दुग्ध उत्पादन गरेको भन्दै प्रकाशपुर दुग्ध उत्पादक सहकारी संस्थाले यो वर्ष पनि उत्कृष्ठताको अवार्ड पाएको छ ।

कामधेनु दुग्ध विकास सहकारी संस्थाको २० औ वार्षिक साधारण सभामा यस वर्ष पनि प्रकाशपुर दुग्ध उत्पादक सहकारी संस्थाले प्रथम पुरस्कार पाएको हो । सुनसरीको बराहक्षेत्र नगरपालिका १० प्रकाशपुरमा रहेको दुग्ध उत्पादक सहकारी संस्थाले ९ वर्ष देखि निरन्तर पुरस्कार पाइरहेको छ । १४ हजार रुपैया नगदसहितको पुरस्कार प्राप्त गरेको हो ।

कामधेनु दुग्ध विकास सहकारी संस्थामा १५ वर्षदेखि सदस्य भएर किसानहरुबाट संकलित दुग्ध प्रकाशपुरले उपलब्ध गराउँदै आएको प्रकाशपुर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष हुमरजंग बस्नेतले बताए । गुणस्तरमा सम्झौता नगरेकैले आफूहरुले पुरस्कार पाउन सकेको उनले बताए । बस्नेतले भने, ‘हामिले नियमित रुपमा दुग्धको ठोस र तरल पदार्थको जाँच गरेर दुग्ध लिने गरेका छौं ।’

कामधेनुमा सुनसरी, मोरङ्ग, झापा, ईलाम र धनकुटालगायत सात जिल्लाबाट दुग्ध आउने गरेको छ । गुणस्तरीय दुग्ध दिनेमा लेटाङ्ग दुग्ध उत्पादक सहकारी दोस्रो भएको थियो । संस्थाले किसानको दुग्ध प्रति एस एन एफ ४ रुपैयाँ ८२ पैसा र प्रति फ्याट ५ रुपैया ४२ पैसाले किसान लाई भूक्तानी गर्दे आएको छ ।

२०४० सालमा विराटनगर दूग्ध वितरण आयोजनाले दुग्ध संकलन केन्द्रको रुपमा स्थापना गरेको केन्द्रलाई निरन्तरता दिई दुग्ध संकलन गर्न थालेको केन्द्रले २०४९⁄०५० सालमा सहकारी दर्ता गरेर संचालनमा आएको थियो । ३२ जनाबाट संस्था सुरुभएको संस्थामा अहिले २ सय ६१ शेयर सदस्य पुगेका छन् ।

२०५६ सालमा २३ हजार रुपैयाँ संस्थाको कुल पुँजी रहेकोमा अहिले तीन करोडभन्दा बढीको कारोबार गरिरहेको लेखापाल जगत कार्कीले बताए । ‘गर्व गर्नुपर्छ यतिको हुन्छ र यो अवस्थासम्म आई पुग्छ भन्ने लागेको थिएन,’ बस्नेतले भने ।

अहिले संस्थाको दुई तले भवन छ । आफ्नै गाडी, चिलिम भ्याट, डेढ कठ्ठा घडेरी, कम्प्युटर प्रविधीबाट दुध नाप्ने, फ्याट, एस.एन.एफ हेर्ने प्रविधिसमेत छ । दैनिक रुपमा ७ सय लिटर दुध संकलन हुँदै आएको छ ।

सस्ंथाबाट दुध, घ्यु, उत्पादन हुँदै आएको छ । संस्थाको चल अचल गरि एक करोड पचास लाख पुँजी छ । शेयर सदस्यले गाई, भैसी किन्न सहुलियत व्याजदरमा ऋण, पाउने गरेका छन् ।

दूग्ध कृषकहरुलाई सरकारले के गरिदिए राम्रो होला भन्ने भन्ने प्रश्नमा बस्नेत भन्छन्, ‘कृषकको लागत बढी छ, लागत अनुसारको पैसा उठ्दैन, त्यसैले सरकारले चोकड, दाना सहुलियत रुपमा खरिद गर्ने व्यवस्था मिलाइदिनु पर्यो ।’