विश्व कीर्तिमान राखेका खगेन्द्र थापाको निधन

Newslaya Home

विश्व कीर्तिमान राखेका खगेन्द्र थापाको निधन

शुक्रबार ०३, माघ २०७६

पोखरा । होचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ ।

केही समयदेखि स्वासप्रश्वासमा समस्या देखिए पछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएका खगेन्द्रको शुक्रबार (आज) दिउँसो निधन भएको हो ।

उपचारको लागि (आइसियु) मा भर्ना भएका थापा मगरको निधन भएको चिकित्सकहरुले बताए पनि मृत्युबारे अन्य कुरा भने खुलाइएको छैन । यसबारे थप रिपोर्ट अस्पतालले चाँडै दिने बताइएको छ ।

उनको शरिरमा हेमोग्लोबिनको कमी, सेतो रगत आवश्यक भन्दा बढी हुने जस्ता समस्या देखिदै आएको थियो ।
बाग्लुङको धुल्लुवासकोट ६ मा जन्मिएका खगेन्द्र थापा मगर ले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए ।

५७ सेन्टिमिटर उचाई रहेको थापालाई वल्र्ड रेकर्ड टोलीले परीक्षण पश्चात विश्वकै सानो बच्चाको उपाधि दिएको थियो । गिनिज बुकमा नाम लेखाउन १८ वर्ष पुग्नुपर्ने प्रावधान रहेका कारण छ महिनापछि मात्र उनको रेकर्ड आधिकारिक रुपोमा प्रमाणित गरिएको थियो ।
जन्म भएको बेला खगेन्द्र मात्र ६०० ग्रामका थिए भने हालको तौल ५.५ किलोग्राम रहेको छ ।