अबुधावीमा भएको दुर्घटनामा झापाकी कृष्णकुमारीको मृत्यु, झापा, सुनसरी र इलामका पाँच जना घाइते

Newslaya Home

अबुधावीमा भएको दुर्घटनामा झापाकी कृष्णकुमारीको मृत्यु, झापा, सुनसरी र इलामका पाँच जना घाइते

शुक्रबार ०३, माघ २०७६

अबुधाबी । आबुधाबीमा बिहीबार भएको सवारी दुर्घटना तीन नेपालीको मृत्यु भएको पुष्टि भएको छ । सोही दुर्घटनामा १४ नेपाली घाइते भएका छन् ।

एमबीएम कम्पनीमा कार्यरत उनीहरु काममा जाँदै गर्दा अल रहा भन्ने स्थानमा बिहीबार बिहान दुर्घटनामा परेका थिए । गुडिरहेको लरीमा ठोक्किएर बस दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङ रहेको नेपाली दूतावास अबुधाबीले जनाएको छ । तामाङको ठेगाना खुल्न बाँकी छ ।

यस्तै, घाइते हुनेहरूमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई, इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँई, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा रहेका छन् । सुजलाको ठेगाना भने खुलेको छैन ।

मफरक अस्पतालमा उपचारपछि निर्मला भने क्याम्प फर्किएकी छिन् । अन्य १३ जनाको आबुधाबीको मफरक, एनएमसी र अल रहा अस्पतालमा उपचार भइरहेको छ ।

बसमा चालकसहित २४ सवार थिए । जसमा २३ महिला रहेको बताइएको छ ।

घाइतेहरूको उपचारमा कम्पनीले सहयोग गरिरहेको दूतावासका श्रमकाउन्सुलर भेषबहादुर कार्कीले बताए ।