युएईमा नेपाली कामदार सवार मिनिबस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १३ नेपाली घाइते

Newslaya Home

युएईमा नेपाली कामदार सवार मिनिबस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १३ नेपाली घाइते

बिहीबार ०२, माघ २०७६

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को अबुधावीमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा चालकसहित ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १९ जना घाइते भएका छन् । घाइतेमध्ये १३ जना नेपाली भएको युएईस्थित नेपाली दूतावासले जनाएको छ । तर, मृत्यु भएका व्यक्तिको राष्ट्रियता र पहिचान खुलेको छैन । प्रवासी कामदार बोकेको बसले मालबहाक लरीलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

आबुधावी प्रहरीले सार्वजनिक गरेको भिडियोमा सडकमा गुडिरहेको कारले दाँया साइड च्याप्दै रोकिन खोजेपछि पछिपछि रहेका दुईवटा लरीले गति कम गर्दै रोकिँदा पछाडिबाट आएको मिनीबसले पछिल्लो लरीलाई ठक्कर दिएको देखिएको छ । स्थानीय प्रहरीले लापरवाहीपूर्ण ड्राइभिङका कारण दुर्घटना भएको जनाएको छ ।

दुर्घटनापश्चात युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालसहित दूतावासको टोली घाइतेहरूलाई भर्ना गरिएको मरफाक अस्पतालमा भेट्न पुगेका थिए । दूतावासले नेपाली काम गर्ने कम्पनीसँग सम्पर्क गरेको जनाएको छ । दूतावासका अनुसार ती काममदार कुन कम्पनीका काम गर्थे भन्ने खुलेको छैन ।