विराटनगर स्थित जलाउन लागिएको शव प्रहरीले लियो नियन्त्रणमा

Newslaya Home

विराटनगर स्थित जलाउन लागिएको शव प्रहरीले लियो नियन्त्रणमा

बिहीबार ०२, माघ २०७६

विराटनगर । मोरङको विराटनगर स्थित सिंघिया खोलाघाटमा जलाउन लागेको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार खोलाघाटमा जलाउन लागेको महानगरपालिका ८ भलुवाइकी २८ वर्षीया प्रेमदेवी साहको घटना शंकास्पद रहेको खबर आए पछि प्रहरीले उक्त शव नितन्त्रणमा लिएको हो ।

घाटमा पुर्‍याएर चितामा राखिसकेको शव जलाउने क्रममा घाँटीमा डाम देखिएपछि पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।


बहिनी मानसिक विरामी भएकोले बराह क्षेत्र नगरपालिकास्थित माइती घरमा उपचार गराएर घर पठाएको र घटना अर्कै हुन पुग्दा उक्त घटना शंकास्पद रहेको मृतकका दाजु राजु साहले बताए ।

केही समयदेखि विरामी अवस्थामा रहेकी प्रेमदेवीको निधनको खबर पाए पछि मृतकका दाजु राजु साहले प्रहरी समक्ष घटना शंकास्पद रहेको बताएका थिए ।
घटनाको जानकारी पाउन साथ शव नियन्त्रणका लागि हाटखोलास्थित वडा प्रहरी कार्यालयबाट प्रहरी नायब निरिक्षक मनोज अधिकारी र जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरिक्षक रामबहादुर ढकाल नेतृत्वको अलग–अलग टोली सिंघियाघाटमा पुगेका थिए ।

१२ वर्षअघि मागि विवाह गरेका मृतकका श्रीमान गोविन्द साहलाई नियन्त्रणमा लिई शंकास्पद देखिएको घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

मानसिक बिरामी रहेको प्रेमदेवीले करिब पाँचमहिना अघि सलले पासो लगाएर आत्महत्याको प्रयास गरेकी हुँदा सो घटनाको डाम घाँटीमा रहेको मृतकका श्रीमान् गोविन्दले बताए । साह परिवारमा १० र ८ वर्षका दुई छोरा छन् ।