नेपालकै अग्लो बुद्धमूर्ति सुर्खेतमा बनाइने

Newslaya Home

नेपालकै अग्लो बुद्धमूर्ति सुर्खेतमा बनाइने

बिहीबार ०२, माघ २०७६

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–६ बुद्धपथ स्थित नेपालको सबैभन्दा अग्लो बुद्धमूर्ति बनाइने भएको छ ।

कर्णाली प्रदेशका हरेक नागरिकसँग १०० रुपैयाँ सहयोग संकलन गरि एक सय आठ फिट अग्लो बुद्धमूर्ति बनाउन लागिएको सुर्खेतको बुद्ध सरोकार समितिले जनाएको छ ।

धर्मजप माला १०८ दानाको हुने भएकोले १०८ फिटकै मूर्ति बनाउने निर्णय भएको समितिका अध्यक्ष पञ्चसिंह रोकायाले बताए ।

विभिन्न क्षेत्रका धर्म गुरुहरुले दानको महिमाबारे प्रवचन दिनका लागि माघ ३ गते शुक्रबारदेखि ९ गतेसम्म वीरेन्द्रनगरमा धम्म देशनाको आयोजना गरिने मूर्ति निर्माण समितिका महासचिव जीवनकुमार शाक्यले जानकारी दिए ।

मूख्य मूर्तिको वरिपरि फोहरासहित अन्य बुद्धमूर्ति पनि बनाइने योजना भएकाले मूर्ति निर्माणमा ९ देखि ११ करोड रुपैयाँ लागत अनुमान गरिएको जनाइएको छ । दानको स्तरअनुसार दाताहरुलाई सम्मान र शिलालेखमा उनीहरुको नामाकरण पनि गरिने समितिले जनाएको छ ।