केरा खेतीबाटै प्रशस्त आम्दानी गर्दै कृषक लिम्बू

Newslaya Home

केरा खेतीबाटै प्रशस्त आम्दानी गर्दै कृषक लिम्बू

–भूमिका पाख्रिन
बिहीबार ०२, माघ २०७६

लेटाङ । मोरङ जिल्लाको लेटाङ नगरपालिका स्थित वडा नं. १ मा पर्ने हर्दिया गाँउका कृषक मोहन लिम्बू यति बेला केरा खेतीबाटै प्रशस्त आम्दानी गरी रहेका छन् । साविकको भोागटेनी गाविसमा पर्ने विकट हर्दिया गाँउमा लिम्बूले आफ्नै बारीमा लगाएको केरा खेतीबाट मात्रै वर्षेनी २ लाख बढि आम्दानी गर्छन् ।

त्यसो त केरा खेती सँगै अदुवा खेती, बाख्रापालन र रुद्राक्षको खेती समेत लिम्बूले गर्ने गरेको बताए । हाल लिम्बूले निर्माण गरेको बाख्रा खोरमा लगभग ८० वटा साना ठुला गरी खसी, बाख्रा छन् । अदुवा समेत सयौ मन उब्जाउने लिम्बूको विशेष गरी केरा खेतीबारेको प्रसंगमात्रै यहाँ उल्लेख गरिएको छ ।

हाल उमेरले ४ दशक नाघेका लिम्बू डेढ दशक अघि प्रशस्तै धन कमाउने सपनाले खाडी राष्ट्र साउदी अरेवियासम्म पुगे । तर साउदीमा उनले सोचे जस्तो धन कमाउन सकेनन्, निक्कै सास्ती खेपे । “धेरै पैसा पो कमाउला भनेको खान नै समस्या भएर विजोगै पो भयो हौ” – उनी आफ्नै लवजमा ती दिन सुनाउछन् । परिवारबाट छुटिनुको पीडा त छदैछ, खान बस्न समेत कठिनाई भएपछि उनले गाँउ नै फर्कने विचार गरे । “फर्केर पनि के गर्नु होला जस्तो लागेको थियो । आ....बरु गाँउ मै साग रोेप्छु, खोर्सानी रोप्छु परिवारसँगै बस्छु, जे पर्ला पर्ला भनेर आएनी म त” – उनी सम्झछन् ।

साउदी अरबको ४ वर्ष लामो बसाईलाई टुङ्ग्याएर झिनो आसा सहित गाँउ फर्किएका लिम्बूको घर भएको स्थान हालको लेटाङ १ को अत्यन्तै विकट भौगोलिक संरचना छ । साविकको भोगटेनी गाविस राज्य पुनर्संरचना अनुसार लेटाङ नगरपालिकामा समाहित भएता पनि लिम्बूको घर भएको स्थान पुग्न त्यति सहज छैन । यातायातको सुविधा नभएको उक्त स्थानमा साग, आलु अदुवा लगायतका कृषिजन्य उत्पादन हुने गरेका थिए । उनले गाँउमा फर्के पछि एक,दई बोट केराका बिरुवा÷बोट बारीमा लगाएका थिए । तर लिम्बूले खाली भु–भागमा लगाएका ती केराहरु अप्रत्याशित रुपमा सप्रिए । केराहरु आफ्नो बारीको माटो सुहाउदो लागेपछि लिम्बूले मोरङको तल्लो भेगका गाँउहरु चहारे, जहाँ केरा खेती लगाइने गरीन्थ्यो । थप बुझ्दै गएपछि केही उपायहरु समेत पाएको लिम्बू बताउछन् ।

त्यस पश्चात सोही केराहरु थप गर्दै जाँदा हाल उनी सँग करीब १३ सय झ्याङ केराहरु छन् । एक झ्याङ केरामा ५ देखी १० वटासम्म केराका बोटहरु हुने गर्दछ । केराको लागी न त विषादी खरिद गर्नु पर्छ न त कुनै कुरा । लिम्बू थप्छन् – “यी केराहरु साउदीबाट फर्केपछि रोपेका एक दुईबोट केराबाट नै फैलिएका हुन् ।” त्यसो त लिम्बूलाई केराका पातहरु सफा गर्दा होस् या मल प्रयोग गर्दा उनकै श्रीमतीले साथ दिन्छिन् । “मल भनेको अग्र्यानिक मल हो । त्यो पनि आफ्नै बाख्रा खोरबाट निस्किएको” – लिम्बू सुनाउछन् । विदेशको चर्को घाममा काम गर्दाको पीडा, न त भने जति तलब, न त विरामी हुँदा आराम पाउने नै व्यवस्था । गाँउमा आफ्नै परिवार सहित आफ्नै बारीमा आफ्नै तरीकाले कृषि पेशामा आवद्ध हुन पाउदा उनी खुशी त छन् नै । कृषि पेशाबाटै पारिवारिक आर्थिक अवस्था समेत फेरिएकोमा लिम्बू दम्पती दंग छन् ।

भौगोलिक विकटताले यातायातका साधनहरु उति सहज तरीकाले सञ्चालन हुन नसकेपनि हाल भाडाका साना गाडीहरु लिम्बूकै घरसम्म आइपुग्न सक्छन् । भौगोलिक विकटताका कारण आफ्ना वडामा भनेजति विकास गर्न नसकेको वडाध्यक्ष विष्णु मगर बताउछन् । यद्यपी बाटो निर्माणका कार्यहरु थालनी भएसँगै यहाँका कृषकहरुलाई थप सहज हुने मगर विश्वास व्यक्त गर्छन् । यता जाडोयाम बाहेक अन्य महिनामा केरा उत्पादन राम्रो हुने गरेको लिम्बूको भनाई छ । बजारको समस्या छैन, बेचविखन गर्न कुनै समस्या नभएको उनी बताउछन् । यद्यपी बाटोको सुविधा अझ भईदिने हो भने उत्पादनमा मात्र नभई बेचविखनमा समेत सहज हुने लिम्बूको भनाई छ । यता लेटाङ नगर उपप्रमुख कृष्ण कुमारी पोखरेल निरौलाले लिम्बूको कामलाई मुक्त कण्ठले प्रशंसा गरीन् । भौगोलिक विकटताका बाबजुद पनि आफ्नो हावापानी सुहाउदो माटोमा कृषिजन्य वस्तुको उत्पादन गरेर लिम्बूले समाजमै उदाहरणीय कार्य गरेको पोखरेलले बताइन् । त्यसो त लिम्बूबाट धेरै युवाहरुले पाठ सिक्न समेत सक्ने उपप्रमुख पोखरेलको भनाई छ ।

विदेशमा पुग्ने दुई चार जनाको कमाई भयो भन्दैमा आफुहरुपनि विदेश मै पुग्नु पर्छ, विदेशमा कमाई हुन्छ भन्ने पक्का नभएको लिम्बू बताउछन् । विदेशमा जति मेहेनत गरे स्वदेश मै राम्रो आम्दानी गर्न सक्ने लिम्बूको तर्क छ । उनी थप्छन् – “केराबाट आम्दानी धेरै भएर केराखेती धेरै गरेको हुँ, खासमा केरामा उती मेहेनत नै छैन भन्दा पनि हुन्छ । रुद्राक्षमा पनि छैन । बरु बाख्रापालन, अदुवा खेती, सागसब्जीमा चाही बढि मेहेनत गर्ने गरेका छौ ।” यति भन्दै उनी आफ्नो छेवैमा बसेकी श्रीमती तर्फ फर्कन्छन् । लिम्बूकी श्रीमतीले पनि आफ्ना श्रीमानको कुरालाई टाउको हल्लाउदै सहमति जनाउछिन् ।