सिक्किमलाई हेरेर काम गर्न शेरधनलाई पवन चाम्लिङको सुझाव

Newslaya Home

सिक्किमलाई हेरेर काम गर्न शेरधनलाई पवन चाम्लिङको सुझाव

बिहीबार ०२, माघ २०७६

काठमाडौँ । भारत सिक्किमका पूर्वमुख्यमन्त्री डा. पवन चाम्लिङले नेपालले मर्चा जस्तो मौलिक उत्पादनको व्यापार गर्नुपर्ने बताएका छन् । बुधबार राजधानीको राष्ट्रिय सभा गृहमा किरात राई यायोक्खा (किराया)ले आयोजना गरेको यले संवत् ५०८० को अवसरमा शुभकामना तथा यलम्बर स्मृति सम्मान पुरस्कार समारोहमा बोल्दै चाम्लिङले यस्तो बताएका हुन् ।

उनले मर्चालाई आधुनिक विकाससँग जोडेर विश्वमा यसको व्यापार गर्नुपर्ने बताए ।

चाम्लिङ किरायाले प्रदान गरेको यलम्बर स्मृति सम्मान पुरस्कार ५०८० ग्रहण गर्न मंगलबार काठमाडौँ आएका हुन् । २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहितको यो पुरस्कार चाम्लिङलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले फेटा गुथाएर ताम्रपत्रसमेत प्रदान गरे ।

किरायाका उपाध्यक्ष जीवन हाताचोका अनुसार उक्त पुरस्कार प्राप्त गर्ने चाम्लिङ तेस्रो व्यक्ति हुन् । यसअघि साहित्यकार इन्द्रजित राई (२०६९) तथा भाषाविज्ञ एवम् पूर्वराजदूत प्रा.डा. नोबल किशोर राई (२०७०) ले प्राप्त गरेका थिए ।

यसैगरी पूर्वमुख्यमन्त्री चाम्लिङले सकारात्मक भएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे । २५ वर्ष सिक्किममा सफलतापूर्वक जिम्मेवारी निर्वाह गरेको अनुभवसमेत उनले सुनाए । ‘सिक्किममा अनिकाल छैन। गाँस, बास र कपासका लागि सिक्किमलाई हेरेर काम गर्नुस्’, उनले मुख्यमन्त्री राईलाई सुझाव दिँदै भने, ‘भौगोलिक रुपमा टाढा रहे पनि भावनात्मक सम्बन्ध नजिक छ । त्यही भएर हार्दिकतापूर्वक नेपाल आएको हुँ ।’

माघ १ गते किरात संवत् फेरिन्छ । किरात समुदायले यो दिनलाई नयाँ वर्षका रूपमा भव्यतापूर्वक मनाएका छन् । किरात वंशका प्रथम राजा यलम्बरहाङको स्मृतिमा यो संवत् चलाइएको बताइन्छ । उनले सुरु गरेको शासन व्यवस्था लामो समय चलेको इतिहास पाइन्छ । कतिपय इतिहासकारले २८ पुस्ता भनेका छन् भने कतिपयले ३२ पुस्तासम्म किरात वंशले शासन गरेको उल्लेख गरेका छन् ।

कोषाध्यक्ष देवान राईका अनुसार डा.चाम्लिङलाई बिहीबार बिहान गीतकार संघ नेपालले अभिनन्दन गर्नेछ । दिउँसो २ बजे नेपाल प्रज्ञा–प्रतिष्ठानले पूर्वमुख्यमन्त्रीसँग स्वागत तथा भेटघाटको कार्यक्रम राखेको छ ।

अपराह्न ४ बजेपछि भेटघाटको कार्यक्रम तय गरिएको उनले बताए । पूर्वमुख्यमन्त्री बिहीबार मनोकामना मन्दिर दर्शन गर्न जाने कार्यक्रम तय गरिएको छ ।