सन्दीपको उत्कृष्ट बलिङमा मेलवर्न स्टार्सको नवौं जित

Newslaya Home

सन्दीपको उत्कृष्ट बलिङमा मेलवर्न स्टार्सको नवौं जित

बिहीबार ०२, माघ २०७६

काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दा मेलवर्न स्टार्सले बिग बास लिग बीबीएल मा नवौं जित हात पारेको छ । पर्थ स्कोर्चर्सविरुद्ध सन्दीपले उत्कृष्ट बलिङ गर्ने क्रममा २ विकेट लिए ।

उनले ३ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै ७ रन मात्र खर्चेर २ विकेट लिए । १८ बलमा सन्दीपले ११ बल डट फालेका थिए ।

सन्दीपसँगै ज्याक्सन कोलमनले उत्कृष्ट बलिङ गरेपछि मेलवर्नले पर्थ स्कोर्चर्सलाई १३.५ ओभरमा ८६ रनमा अलआउट गरेको थियो । जसमा ज्याक्सन कोलमनले ३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए ।

पर्थका लागि जोश इंगलिसले सर्वाधिक ३७ रन बनाए । यस्तै क्यामरुन ब्याङकरफ्टले १० रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

जवाफमा ८७ रनको लक्ष्य पछ्याएको मेलवर्नले १२ ओभरमा २ विकेट गुमाएर ८९ रन बनाउँदै जित हात पारेको हो । मेलवर्नको लागि ओपनर मार्कुस स्टोइनिसद्ये अविजित ३९ रन बनाए । उनले ३१ बल खेल्दै ६ चौका प्रहार गरे ।

१० खेलमा ९ खेल जितेको मेलवर्न अंक तालिकामा शीर्ष स्थानमा यथावत छ । १० खेलबाट १० अंक रहेको पर्थ सकोर्चर्स चौथो स्थानमा छ ।