इटहरीभरीको जग्गाजमिन अब डिजिटल प्रणालीमा, वडा नं. ७ बाट नापी सुरु

Newslaya Home

इटहरीभरीको जग्गाजमिन अब डिजिटल प्रणालीमा, वडा नं. ७ बाट नापी सुरु

बिहीबार ०२, माघ २०७६

इटहरी । इटहरीको जग्गा डिजिटल प्रणालीबाट नापी हुने भएको छ । त्यसको लागि इटहरी ७ बाट सुरु गर्न लागिएको वडासचिव भवानी धमलाले जानकारी दिए ।

नापीको विषयमा स्थानीयलाई जानकारी गराउन बुधबार कार्यक्रम नै गरिएको थियो । कार्यक्रममा बोल्दै नापी कार्यालयका उपसचिव संजिवकुमार शाहले डिजिटल प्रणालीबाट गरिएको मापनले नापी तथा मालपोत कार्यालयको काम छिटो छरितो र त्रुटीरहित बनाउन मद्धत गर्ने बताए ।

डिजिटल प्रणालीबाट नापी भएपछि यसले परम्परागत ग्राफिकल नापीमा हुन त्रुटीहरु हटाउने र जग्गाको दुरुस्त नाप अभिलेखीकरण गर्ने बताए । ‘मानिसले हातैले बनाएको नक्साका कारण ग्राफिकल नापीमा चार पाँच फुटसम्म यता उता हुन्थ्यो र त्यसले धेरै विवाद ल्याउँथ्यो,’ शाहले भने, ‘तर डिजिटल नापीमा जति जमिन हो, ठ्याक्कै नाप र नक्सा कायम हुन्छ ।’

उनका अनुसार यो नाप सकिएपछि बाटो, जग्गाका सिमानाको किचलो नहुने, नक्सामा कित्ता सहजै फेला पार्न सकिने, ऐलानी जग्गाहरु यकिन हुने, जग्गा खरिद बिक्रि लगायतका कामहरुमा सहजता जस्ता फाइदाहरु हुने उनले बताए ।

डिजिटल नापीपछि मालपोत तथा नापी कार्यालयमा कागजका ढड्डाहरुसमेत घट्नेछ भने नक्सा र कागजात डिजिटलाइज्ड हुनेछ ।

इटहरीमा यसअघि वडा नंं.८ मा डिजिटल नापी गरिएको थियो । तर त्यसै रोकिएपछि अलपत्र परेको नापीलाई नापी कार्यालयका नयाँ प्रमुख शाहको सक्रियतामा पुनः सुरु गरिएको हो ।

नापीको सुरुवात वडा नं. ७ बाट सुरु हुन लागेकोमा वडाध्यक्ष नरबहादुर राईले खुसी व्यक्त गरे ।