योग गर्दा यी कुरामा ध्यान दिनुहोस्

Newslaya Home

योग गर्दा यी कुरामा ध्यान दिनुहोस्

बिहीबार ०२, माघ २०७६

स्वस्थ तथा तन्दुरुस्त रहन योग अत्यन्त उपयोगी मानिँदै आएको छ । प्रविधिको अधिक प्रयोग र व्यस्त जीवनशैलीका कारण मानव स्वास्थ्यमा नकारात्मक प्रभाव बढ्दै गएको पाइएको छ । सरकारी तथ्याङ्क हेर्दा नेपालमा पछिल्लो समय सर्नेभन्दा नसर्ने रोगका बिरामी बढ्दै गएको देखिन्छ । हाल देखिएका जटिल रोगमध्ये करिब ३० प्रतिशत सर्ने खालका छन् भने ७० प्रतिशत नसर्ने खालका छन् ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा.वासुदेव उपाध्यायले योग शरीर, मन र आत्मालाई एक गर्ने आध्यात्मिक प्रक्रिया भएकाले मानव शरीरका लागि महत्त्वपूर्ण रहेको बताए ।

आउनुहोस् जानौँ योग गर्दा यस्ता कुरामा ध्यान दिनुपर्छ
योग गर्दा हामी आफ्नो शारीरिक अवस्थाका बारेमा ध्यान दिनुपर्ने र जुनसुकै योग गर्दा सुरुमा योग्य गुरुको सल्लाह लिनुपर्ने आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा.वासुदेव उपाध्याय बताउँछन् । शारीरिक रूपमा अशक्त, गर्भवती, मधुमेह, उच्च रक्तचाप, जोर्नीको दुखाइजस्ता दीर्घरोग भएकाले योग गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ, यस्ता मानिसले धेरै परिश्रम गर्दा मुटुमा असर पर्ने उनले बताए ।

नियमित योगका फाइदा
शरीरमा रक्तसञ्चारका साथै अक्सिजनको मात्रा बढाउँछ ।

शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

योगासन र ध्यानले जोर्नीको समस्या कम गर्छ ।

तनाव हटाउँछ, राम्रो निद्रा लाग्छ र पाचन प्रक्रिया ठिक हुन्छ ।

बालबालिकालाई योग गराउँदा उनीहरूको दिमाग तीक्ष्ण हुन्छ भने शारीरिक रूपमा पनि स्वस्थ रहन्छन् ।

योगको नियमित अभ्यासबाट कार्यक्षमतामा वृद्धि तथा मानसिक शान्ति प्राप्त हुन्छ ।

प्राणायाम गर्दा श्वासप्रश्वासको गति नियन्त्रण हुन्छ ।

ध्यानले एकाग्रता बढाउँछ, सकारात्मक सोचको विकास हुन्छ र अनावश्यक विचारबाट मुक्ति दिलाउँछ ।

शरीर, मन र आत्माबीचको समन्वय, ऊर्जा प्राप्ति, आत्मज्ञानलगायत सकारात्मक गुणको विकास हुन्छ ।