शंकास्पद गतिविधि गरेको आरोपमा माइ मेलाबाट १२ महिलासहित ३२ जना पक्राउ

Newslaya Home

शंकास्पद गतिविधि गरेको आरोपमा माइ मेलाबाट १२ महिलासहित ३२ जना पक्राउ

बुधबार ०१, माघ २०७६

भद्रपुर । झापाको माइबेनी मेलाबाट शंकास्पद गतिविधि गरेको आरोपमा १२ महिलासहित ३२ जना पक्राउ परेका छन् ।

माघे संक्रान्तिको अवसरमा कनकाई नगरपालिकास्थित कनकाई (माई) नदी किनारमा लागेको माइबेनी मेलाबाट बुधबार उनीहरूलाई पक्राउ गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । कनकाई पुल पूर्वपट्टीको सुरुङ्गाबाट ९ र पश्चिम पट्टीको झिलझिलेबाट २३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्ने अधिकांश भारतीय नागरिक रहेको खुलेको छ । प्रहरीका अनुसार मेला स्थलमा शंकास्पद गतिविधि गर्दै आइरहेका उनीहरूले मोबाइल, पर्स, गरगहनालगायतका सरसामान लुट्ने तथा चोर्न आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ पर्ने अधिकांश भारतीय नागरिक रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिएका छन् । मेलास्थलमा जडान गरिएको सिसी क्यामेराको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको कोइरालाले बताए ।

पक्राउ परेका ३२ जनालाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।