अमेरिकामा आपत्‌कालीन अवतरण गर्न विमानले इन्धन खसाल्दा १७ बालबालिका घाइते

Newslaya Home

अमेरिकामा आपत्‌कालीन अवतरण गर्न विमानले इन्धन खसाल्दा १७ बालबालिका घाइते

बुधबार ०१, माघ २०७६

बिबिसि । एउटा यात्रुवहाक विमानले लस एन्जेलस अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्‌कालीन अवतरण गर्नु अघि विद्यालयको खेलमैदानमा इन्धन खन्याएको छ ।

इन्धन शरीरमा परेपछि कम्तीमा १७ बालबालिका र केही युवाहरूमा छाला र श्वासप्रश्वासको समस्या देखिएको छ ।

हवाई नियमले आपत्‌कालीन अवस्थामा इन्धन खसाल्न अनुमति दिए पनि उच्च उचाइबाट निश्चित स्थानमा मात्रै त्यसो गर्न पाइने बताइएको छ ।

डेल्टा वायुसेवाको सो विमानको इन्जिनमा समस्या आएको कारण विमानस्थल फर्किएको थियो ।

विमानस्थलबाट २६ किलोमिटर पूर्वमा रहेको पार्क एलिमेन्टरी विद्यालयमा प्रभावित सबै समान्य घाइते भएका हुन् ।

लस एन्जेलस टाइम्स पत्रिकाका अनुसार इन्धल खसालिएको समयमा दुई वटा कक्षाका विद्यार्थीहरू चौरमा थिए ।

विद्यालय रहेको कुडाही शहरकी नगरप्रमुख एलिजावेथ एल्कान्टरले भनिन्, ‘म ज्यादै दुखित छु । यो प्राथमिक विद्यालय हो र त्यहाँ सबै साना बालबालिका थिए ।’

डेल्टा वायुसेवाले एक विज्ञप्तिमा विमानले अवतरणको बेला तौल कम गर्न इन्धन पोखेको पुष्टि गरेको छ ।

फेडेरल एभिएशन एडमिनिस्ट्रेसनकी प्रवक्त्ता एलेन केनिट्जेरले रोयटर्स समाचार संस्थालाई भने, ‘हामी यो घटनाको छानबिन गरिरहेका छौँ ।’

‘अमेरिकी विमानस्थलबाट आवतजावत गर्ने विमानका लागि इन्धन पोख्ने सम्बन्धमा विशेष नियम छ ।’

‘त्यो नियमले समान्यतया उच्च उचाइमा बसोबास नभएको क्षेत्रमा इन्धन पोख्न मात्रै अनुमति दिन्छ ।’