विश्वकै धनाढ्य व्यापारी जेफ बेजोस्‌ले भारतमा एक खर्बभन्दा बढी लगानी गर्ने

Newslaya Home

विश्वकै धनाढ्य व्यापारी जेफ बेजोस्‌ले भारतमा एक खर्बभन्दा बढी लगानी गर्ने

बुधबार ०१, माघ २०७६

बिबिसि । अमेजनका मालिक जेफ बेजोस्‌ले भारतलाई प्रमुख बजार भन्दै ठूलो लगानी गर्ने घोषणा गरेका छन् ।

बेजोस्‌ले आफ्नो संस्थाले भारतमा साना तथा मझौला व्यापारलाई इन्टरनेटमा कारोबार गर्न सहज बनाउन एक अर्ब अमेरिकी डलर अर्थात एक खर्ब १३ अर्ब नेपाली रुपैयाँ लगानी गर्ने बताएका छन् ।

नयाँ दिल्लीमा एउटा कार्यक्रममा बोल्दै बेजोस्‌ले एक्काइसौँ शताब्दी ‘भारतको शताब्दी’ हुने बताए ।

उनको तीन दिने भारत भ्रमणका बेला साना व्यापारीहरूले विरोध गर्ने ठानिएको छ ।

भारतका ३०० शहरका साना व्यापारीहरूले अमेजनले स्थानीय बजारमा नकारात्मक प्रभाव पारेको भन्दै विरोध प्रदर्शनको योजना गरेका छन् ।

उनीहरूले अमेजनले केही ठूला विक्रेताहरूलाई मात्रै प्रोत्साहन गरेर र ठूलो छुटमा सामान उपलब्ध गराएर साना व्यापारीहरूलाई असर गरेको आरोप लगाएका छन् ।

अमेजनले भने ती आरोपहरूको खण्डन गरेको छ ।

बुधबारको सम्बोधनमा बेजोस्‌ले भने, ‘यो गतिशीलता, यो उर्जा....यो वृद्धि । यो देशसँग केही विशेष छ । र, यो प्रजातन्त्र हो ।’

उनले अमेजनले सन् २०२५ सम्ममा भारतमा बनेका १० अर्व डलर बराबरका सामान निर्यात गर्ने र ५.५ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता गरिसकेको बताए ।

भारतको इन्टरनेटमा खरीद बिक्री व्यापारमा अमेजन र अमेरिकी संस्था वालमार्टको फ्लिपकार्ट सबैभन्दा ठूला खेलाडी हुन् ।

तर गत वर्ष भारत सरकारले विदेशी संस्थाले आफ्नै उत्पादनका सामग्री बिक्रीमा सीमा तोक्ने कानुन ल्याएपछि दुवैलाई केही घाटा लागेको थियो ।

यो महिनाको सुरुमा एशियाका सबैभन्दा धनी व्यापारीले भारतमा अमेजनलाई चुनौती दिन नयाँ सेवा सुरु गरेका छन् ।

मुकेश अम्बानीको रियालन्स इन्डस्ट्रिजले मानिसहरूलाई नयाँ सामान घरदैलोमा पुर्‍याउने सेवाका लागि नाम दर्ता गर्न निमन्त्रण गरेको थियो ।

सो कम्पनीले आफ्नो मोबाइल सेवाका ठूलो ग्राहक सङ्ख्यालाई उपयोग गरेर व्यापार स्थापित गर्ने नीति लिएको छ ।