किमाथाङ्कामा सशस्त्रको सीमा निगरानी पोष्ट

Newslaya Home

किमाथाङ्कामा सशस्त्रको सीमा निगरानी पोष्ट

बुधबार ०१, माघ २०७६

काठमाडौँ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–१ स्थित किमाथाङ्कामा सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ ।

सीमा नाकाभन्दा एक किलोमिटर यता दुई वटा घर भाडामा लिई स्थापना गरिएको उक्त बिओपीले मंगलबारदेखि नै दैनिक कार्य सुरु गरेको सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय काठमाडौँका सशस्त्र प्रहरी नायब उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट किमाथाङ्का जिल्लाको सदरमुकाम खाँदबारीबाट ११० किलोमिटर उत्तरतर्फ सीमा क्षेत्रमा स्थापना भएको हो । सो बिओपी सीमा इलाकामा हुने चोरी, पैठारी नियन्त्रण, सीमा अपराध नियन्त्रण तथा सीमास्तम्भको सुरक्षामा परिचालित रहने छ ।

सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा आवश्यक बन्दोबस्तीका सामानसहित हेलिकोप्टरद्वारा मंगलबार उक्त टोली पुर्याइएको थियो । सशस्त्रको यसअघि १०७ सीमा निगरानी चौकी छ । सरकारले ११४ स्थानमा चौकी थप्ने निर्णय गरिसकेको छ ।