तरुल र सखरखण्ड पनि भारतबाट आयात

Newslaya Home

तरुल र सखरखण्ड पनि भारतबाट आयात

बुधबार ०१, माघ २०७६

काठमाडौं । मकर संक्रान्तिमा विशेषगरी तरुल, सखरखण्ड र तिलको लड्डु खाने प्रचलन छ । तर नेपालमा उत्पादन हुने तरुल र सखरखण्डले यहाँको माग नधान्ने भएकाले भारतबाटै ल्याउनुपर्ने अवस्था छ ।

मकर संक्रान्तिकै लागि पुसमा मात्र १ हजार २ सय ९५ टन तरुल ल्याइएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ । जसमध्ये भारतबाट ४२ टन आएको छ ।

सखरखण्ड २४२ टन भित्रिएको छ । यी वस्तु एक साताको अवधिमा भित्रिएको समितिले जनाएको छ ।

‘मकर संक्रान्तिमा तरुल नै धेरै बिक्री हुन्छ । यसमा हामी आत्मनिर्भर उन्मुख छौं,’ समितिका उपसचिव विनय श्रेष्ठले भने, ‘सखरखण्ड भने धेरैजसो भारतबाटै आयात हुन्छ ।’

तरुल मकर संक्रान्तिलाई लक्ष्य गरी ल्याइन्छ । सखरखण्ड भने त्यसपछि पनि बिक्री हुने उनले बताए । गत वर्ष पुसमा ९८२ टन तरुल भित्रिएको समितिले जानकारी दिएको छ । त्यसमा भारतबाट मात्रै ७१ टन आयात भएको थियो । सखरखण्ड १६३ टन आयात भएको थियो ।