आजदेखि अरूको खातामा पैसा जम्मा गर्ने व्यक्तिको ३ पुस्ते विवरण चाहिने

Newslaya Home

आजदेखि अरूको खातामा पैसा जम्मा गर्ने व्यक्तिको ३ पुस्ते विवरण चाहिने

बुधबार ०१, माघ २०७६

काठमाडौं । आजदेखि अरूको बैंक खातामा पैसा जम्मा गर्ने व्यक्तिको पनि ३ पुस्ते विवरण चाहिने भएको छ ।

सम्पत्ति शुद्धीकरण निवारणका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)को नियमअनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई गोएएमएल सफ्टवेर राख्न निर्देशन दिएको थियो ।

राष्ट्र बैंकको निर्देशन अनुसार आज माघ १ गतेदेखि वाणिज्य बैंकहरूले अरूको बैंक खातामा पैसा जम्मा गर्ने व्यक्तिको पनि ३ पुस्ते लिनेछन् ।

त्यतिमात्रै होइन, आफ्नो पहिचान खुल्ने सक्कली प्रमाणपत्र अर्थात् नागरिकता, ड्राइभिङ लाइसेन्स, मतदाता परिचयपत्र वा पासपोर्टसमेत देखाउनुपर्नेछ ।

यो प्रणाली प्रायः विश्वका सबै देशको बैंकिङ क्षेत्रमा लागू गरिएको छ । नेपालमा २ वर्ष अगाडिबाट नै राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा गोएएमएल प्रणाली लागू गर्ने तयारी गरिरहेको थियो ।

०७७ असार १ गतेदेखि विकास बैंक र फाइनान्स कम्पनीहरूले गोएएमएल सफ्टवेर राख्नुपर्नेछ ।

तोकिएको समयमा गोएमएल लागू नगर्ने बैंक तथा वित्त कम्पनीलाई राष्ट्र बैंकले ५ लाखदेखि १० करोड रुपैयाँसम्म जरिवाना तिराउने राष्ट्र बैंकको भनाइ छ ।