तुम्बाहाङ्फेले राजीनामा नदिए समानुपातिकबाट हटाउने तयारी

Newslaya Home

तुम्बाहाङ्फेले राजीनामा नदिए समानुपातिकबाट हटाउने तयारी

बुधबार ०१, माघ २०७६

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङ्फेकै माग अनुसार केन्द्रीय सचिवालयबाट सभामुख उम्मेदवार चयनपछि पनि राजीनामा नआए संवैधानिक र कानूनी विकल्पबाट अघि बढ्ने विषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।

आइतबार उनीहरूले केही निकटस्थ कानून व्यवसायीसँग गोप्य कुराकानी समेत गरेको स्रोतले जनाएको छ ।

कानूनी व्यवस्था अनुसार कुनै पनि दलले आफ्ना समानुपातिक सांसदको नाम सूचीबाट हटाउन सक्ने भएकाले संसद बैठक बस्नु अगावै उनलाई सांसद पदबाट हटाएपछि उपसभामुख पद स्वतः रिक्त हुने र सभामुखसहित दुवै पद रिक्त भएको अवस्थामा नेकपाले सभामुख पद जोगाउन सक्ने कानून व्यवसायीले सुझाव दिएका छन् ।

नेपालनिकट एक नेताका अनुसार तुम्बाहाङ्फेले पार्टी निर्णयलाई चुनौती दिएकाले उनीबाहेकको विकल्पबाट छिटो उम्मेदवार छान्नुपर्ने समझदारी प्रचण्ड–नेपालबीच भएको छ । तुम्बाहाङ्फेबाहेक सभामुखमा पूर्व एमाले समूहबाट सुवासचन्द्र नेम्वाङ तथा माओवादी समूहबाट अग्नि सापकोटाको नाम चर्चामा छ ।

सभामुख उम्मेदवार टुंग्याएपछि उपसभामुखले चाल्ने कदमका आधारमा अघि बढ्न सहज हुने दुवै नेताको बुझाइ रहेको छ ।