इनरुवामा सित्तैमा भरपेट खाना

Newslaya Home

इनरुवामा सित्तैमा भरपेट खाना

मङ्गलबार २९, पुष २०७६

इनरुवा । पूर्वमा सस्तो दरमा भरपेट खाना खुवाउने लहर नै चलेको छ । सोही क्रममा सुनसरीको इनरुवामा भने निःशुल्क खाना खुवाइन लागिएको छ । केहि साताअघि बिराटनगरबाट सुरु भएको सस्तोमा खाना खुवाउने अभियान यतिबेला पूर्वका विभिन्न शहरमा विस्तार भएको छ ।

बिराटनगरबाट सुरु भएको १० रुपैंयामा भरपेट खाना खुवाउने कार्यक्रम झापा पुग्दा ५ रुपैयाँमा झरेको थियो । यस्तै, इटहरीमा १५ रुपैंयामा सुरु भएको खाना खुवाइने अभियान सुनसरी सदरमुकाम इनरुवा आइपुग्दा निःशुल्कमा झरेको हो ।

पूर्वका विभिन्न शहर र बजारमा गरिब, दलित र विपन्न समूदायलाई लक्षित गरी एकपछि अर्को स्थानमा सस्तो दरमा खाना खुवाउने होडबाझी नै चल्दा सुनसरीको इनरुवामा भने स्थानीयहरुले भोलि (बुधबार) बाट निःशुल्क खानाको अभियान चलाउन लागेका हुन् ।

अभियानका लागि सत्य यादवको संयोजकत्वमा स्थानीय समाजसेवीहरु सम्मिलित १० सदस्यीय समिति गठन गरिएको छ । यादवका अनुसारका ९ सदस्य सल्लाहकार समितिको चयन समेभ भैसकेको छ । यादवले भोलिबाट इनरुवा बसचौकमा सुरुवात गर्न लागिएको निःशुल्क भरपेट खाना कार्यक्रम तत्काल १ लाख रुपैंयाबाट थालनी गर्न लागिएको बताए ।

प्रारम्भिक तवरमा तीन दिनका लागि भनि अघि सारिएको अभियानमा सहयोगी दाताहरुको संख्या थपिन थालेकाले आफुहरुलाई हौसाएको अभियानका संयोजक यादवको भनाई छ । निःशुल्क खाना कार्यक्रममा पुग्ने जोकोहीले दाल, भात, अचार, पापड खान पाउनुकासाथै निःशुल्क पानी समेत पिउन पाउने छन् ।