कृषि बैंकमा चार करोड हिनामिना गर्ने आठ जनाविरुद्ध मुद्दा

Newslaya Home

कृषि बैंकमा चार करोड हिनामिना गर्ने आठ जनाविरुद्ध मुद्दा

मङ्गलबार २९, पुष २०७६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक न्यूरोड शाखाको रकम हिनामिना गरेको अभियोगमा आठ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

अख्तियारले कृषि विकास बैंक न्यूरोड शाखाका तत्कालीन शाखा प्रबन्धक प्रेमहरी ढुंगेल र नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी रमेशराज विष्टसहित आठविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारले कृषि विकास बैंक, न्यूरोड शाखाकी टेलर सहायक दिपिका रेग्मी, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे, रमेशराज विष्ट र प्रकाश घतानीसहितलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।

शाखा प्रबन्धक ढुंगेल र कर्मचारी रेग्मीविरुद्ध ४ करोड २४ लाख १३ हजार विगो कायम गरिएको छ । उनीहरुकै सरसल्लाह, सहमति र मिलेमतो गरी अनधिकृत रुपमा रकम हिनामिना भएको अख्तियार अनुसन्धानको ठहर छ ।