विराटनगरको सडकमा पार्किङ गर्न निषेध गरिएपछि बजार बन्द

Newslaya Home

विराटनगरको सडकमा पार्किङ गर्न निषेध गरिएपछि बजार बन्द

मङ्गलबार २९, पुष २०७६

विराटनगर । विराटनगर महानगरपालिका–९ जलजला चोकदेखि बुधहाट चोकसम्मकान सडकमा पार्किङ निषेध गरिएपछि बजार र पसल बन्द गरिएको छ ।

महानगरपालिकाले पुस १६ गतेबाट लगभग पाँच सय मिटर क्षेत्रफलमा लागू गरेको मेन रोडको दुवैतर्फ सवारी साधन पार्किङ गर्न नदिने निर्णयका विरुद्ध विराटनगरमा मंगलबार दिउँसोबाट बजार र पसल बन्द गरिएको छ ।

नगरको मुख्य बजारको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन व्यापारी, जनप्रतिनिधि र सरोकारवालाबीच नै छलफल गरेर सबै पक्षको सहमतिमा मेन रोडको जलजला–बुधहाट चोकमा पार्किङ निषेध गर्ने निर्णय गरेको महानगरका मेयर भीम पराजुलीले बताए।

सडकको दुवैतर्फ नभए पनि एकातर्फ भने पार्किङ गर्न दिनु पर्ने आफूहरुको माग रहेको कपडा व्यापारी महेश साहले बताए । सडकमा पार्किङ भइदिए ग्राहकलाई त्यहीँ गाडी राखेर सामान खरिद गर्न आउन सहज हुने बताउँदै उनले ग्राहाकको सहुलियत र सुविधाका लागि पनि एकातर्फ सडकमा पार्किङ गर्न दिनु पर्ने जिकिर गरे ।

ट्राफिक प्रहरीले मेन रोडको उक्त सडक खण्डमा लगभग एक वर्ष अघिदेखि सवारी साधन रोकेर राख्न निषेध गरेको थियो । पछिल्लो समय महानगरबाटै निर्णय भएपछि भने गलत र नियम विपरितको माग राख्दै व्यापारी ‘नो पार्किङ’ को विरोधमा उत्रिएका हुन् ।

साँघुरो सडकमा पार्किङ गरिदिँदा सवारी आवागमन प्रभावित बनेर धेरै समस्या उत्पन्न हुने र पार्किङका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले सडकमा सवारी साधनलाई रोकेर राख्न दिनु पर्छ भन्ने माग राखेर आन्दोलन गर्नु गलत भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले बताएका छन् ।
बन्द गरिएको क्षेत्रमा मोबाइल, जुत्ता, चप्पल, मिठाई, कपडा, कस्मेटिक लगायतका तीन दर्जन बढी पसल सञ्चालनमा छन् ।