प्रदेश १ को मन्त्रिमण्डल विस्तार यसै साता

Newslaya Home

प्रदेश १ को मन्त्रिमण्डल विस्तार यसै साता

मङ्गलबार २९, पुष २०७६

विराटनगर । प्रदेश १ को मन्त्रिमण्डल यसै साता विस्तार गरिने भएको छ । मुख्यमन्त्री शेरधन राईले अन्ततः मन्त्रिमण्डल विस्तारको खाकालाई टुंगो लगाएका हुन् । उच्चस्रोतका अनुसार मुख्यमन्त्री राईले मन्त्रिमण्डलको आकार एक महिलासहित १० सदस्यीय पुर्याउने निश्चित भएको हो ।

अहिले प्रदेश १ मा मुख्यमन्त्री राईको नेतृत्वमा मन्त्रिमण्डल पाँच सदस्यीय छ । मुख्यमन्त्री राईले सरकारको आधा उमेर सकिंदा पनि समावेशी मन्त्रिमण्डल गठन नगरेको भन्दै संसदीय दलको बैठकमा आरोप खेपेका थिए ।

सपथ ग्रहणका बेलामा सानो आकारको मन्त्रिमण्डल गठन गर्ने बताएका मुख्यमन्त्री राईले प्रदेश सरकार गठनको ३ बर्ष नजिक पुग्दा पहिलो पटक मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।

मन्त्रिमण्डलमा थप चार जना राज्यमन्त्री बन्नेछन् । स्रोतका अनुसार इलामका रामबहादुर मगर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बन्दैछन् । बाँकी चार राज्यमन्त्रीको दौडमा कला घले, अम्बिरबहादुर गुरूङ, झलकसिंह दर्लामी, रामकुमार राई र विजय विश्वाससहित पाँच जना छन् ।

उनीहरू मध्ये उदयपुरकी घले सामाजिक विकास राज्यमन्त्री र ओखलढुंगाका गुरूङ भौतिक पूर्वाधार राज्यमन्त्री बन्ने निश्चित भएको हो । उनीहरू पूर्व एमालेबाट निर्वाचित हुन् । बाँकी दुई राज्यमन्त्रीको दौडमा झापाका दर्लामी र मोरङका विश्वास अगाडि रहेको जनाइएको छ । उनीहरू पूर्व माओवादीका हुन् ।

पुष १७ गते बिहीबार नै मन्त्रिपरिषद् विस्तारको तयारी थियो । तर खोटाङका रामकुमार राईसमेत मन्त्रीको दौडमा रहेका कारण पूर्व माओवादीभित्र अन्तिम कसरतका लागि भन्दै मन्त्रिमण्डल विस्तारको मिति एकपटकका लागि मात्रै सारिएको जनाइएको छ ।