कुहिरो नहट्दा तराईको जनजीवन प्रभावित

Newslaya Home

कुहिरो नहट्दा तराईको जनजीवन प्रभावित

मङ्गलबार २९, पुष २०७६

काठमाडौं । तराईमा केही दिन यता लगातारजस्तै लागेको कुहिरो नहट्दा जनजीवन प्रभावित बन्दै गएको छ । बिहानैदेखि सुरु हुने कुहिरो बेलुकातिर केही समयका लागि मात्रै हट्ने गरेकोले चिसो बढ्दा जनजीवन प्रभावित बनेको हो ।

कुहिरोसँगै चिसो हावा पनि चलेकाले विशेषगरी वृद्धवृद्धा, बालबालिका र बिरामी समस्यामा परेका छन् । मङ्गलबार पनि बिहानैदेखि तराईका चितवनबाहेक सबैजसो जिल्लामा बाक्लो कुहिरो लागेको छ ।

कुहिरो दिनभर रहने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

यसैबीच मङ्गलबार पश्चिमका उच्च पहाडी र हिमाली भेगमा सामान्य हिमपातको सम्भावना छ । सोमबारदेखि पश्चिमी वायुको प्रभाव देखिए पनि त्यति सक्रिय नभएकाले देशका अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने उनले बताए ।